रबिन्द्र यादव
परासी, ३० बैशाख । नवलपरासीमा एक मतदान केन्द्र महिलाको जिम्मामा लगाइएको छ । जिल्लाको कावासोती नगरपालिका २ स्थित श्री शिव माध्यमिक विद्यालयको ग मतदान केन्द्र महिला टोलीलाई जिम्मा लगाइएको छ ।
निर्वाचन कार्यालयले महिला तथा बालबालिका कार्यालय नवलपरासीकि कार्यालय प्रमुख उर्वरा लुईटेललाई मतदान अधिकृतको रुपमा खटाई उनी संग ५ जना कर्मचारी पनि महिला नै खटाएको छ । त्यस बुथमा सुरक्षाकर्मी पनि महिला नै खटाइएको छ । एक जना महिला असईको नेतृत्वमा केन्द्रको सुरक्षार्थ १८ जना महिला सुरक्षाकर्मी खटाइएको कार्यालयले जनाएको छ । त्यस माविमा ३ वटा मतदान केन्द्र छन् जसमा ग मतदान केन्द्र महिला टोलीलाई सौपिएको छ ।
मतदान अधिकृत लुईटेले संचारकर्मी संग कुराकानी गर्दा भनिन् मैले ुख्य निर्वाचन कार्यालय संग जिल्लामा एउटा बुथ नमुना बुथको रुपमा राख्न बुथमा महिला नै महिला राख्न अनुरोध गरेका थिए जसलाई कार्यालयले स्वीकार गरेको थियो । उक्त बुथमा अप्सरा सुबेदी सहायक मतदान अधिकृत सहित उर्मिला शर्मा, राधिका अर्याल, लक्ष्मी सापकोटा, यमकुमारी थापा खटिएका छन् ।
मतदान अधिकृत लुईटेलले भनिन्, ग केन्द्र पूर्ण रुपमा महिलाहरुको नेतृत्वमा संचालित छ । यसको सम्पुर्ण तयारी पुरा भईसकेको छ र उक्त केन्द्रमा दलहरुले प्रतिनिधि पनि महिला नै दिरहेका छन् । उक्त मतदान स्थलमा कुल २ हजार ८ सय ४७ मतदाता छन जसमा ग केन्द्रमा सय ४३ मतदाता रहेका छन् ।
पहिलो घेराको सुरक्षामा पुरै महिला
शिव माविको मतदान स्थलमा आवश्यक पर्ने पहिलो घेराको सुरक्षामा सम्पूर्ण महिला सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रहरी सहायक निरिक्षक दिल कुमारी काफ्लेको नेतृत्वमा ५ जना नेपाल प्रहरी, ११ जना म्यादी प्रहरी केन्द्रमा परिचालन गरिएको छ ।
