दिपक बोहरा
तुलसीपुर । दाङका तीन अस्पतालमा सेवा सुदृढीकरणका लागि थप बजेट बिनियोजन भएको छ । स्वास्थ्य मन्त्रालयले सेवा सुदृढिकरणका लागि दाङमा दुई करोड २० लाख बजेट बिनियोजन गरेको जनाएको छ ।
स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार प्रताप पौडेलका अनुसार दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ८०/८० लाख र लमही अस्पताललाई ६० लाख बजेट बिनियोजन गरेको हो । उक्त बजेट भौतिक पूर्वाधारको सुधार र मर्मतमा खर्च सकिने छ । स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार पौडेलका अनुसार निर्वाचन आचारसंहिता लाग्नु भन्दा अगाडि नै सुनिश्चित भएको उक्त बजेट प्रक्रिया पूरा गर्दै अस्पतालहरुमा अख्तियारी दिन सुरु भएको छ ।
बजेट अस्पतालले उपकरण खरिद तथा नयाँ संरचना निर्माणमा खर्च गर्न नपाईने उनले बताए । मन्त्रालयले देशभरिका एक सय दुई वटा अस्पतालको सेवा सुदृढीकरणका लागि ७१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले अञ्चल अस्पतालदेखि जिल्ला अस्पतालसम्मको सुधारका लागि थप बजेट छुट्टाएको हो । मन्त्रालयले आवश्यकता र मागलाई ध्यानमा राखेर अस्पताललाई २० लाखदेखि एक करोड ८० लाख रुपैयाँसम्म बजेट पठाएको पौडेलले वताए ।
राप्ती उपक्षेत्रीय अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डे डा. जनार्दन पन्थीले उक्त रकम विशेषगरी आकस्मिक कक्ष सुधार, ओपिडी, इनडोर सुधार, कुरुवा कक्ष निर्माण, शल्यकक्षको मर्मत, पोस्टमार्टम घर मर्मत तथा निर्माणसहित अस्पतालको अन्य भागको मर्मत र रङरोगन लगायतका शीर्षकमा खच गर्न भनी स्वास्थ्य मन्त्रालयले बजेट पठाउन लागेको हो ।
सरकारी अस्पतालहरु फोहोरी र दुर्गन्धित हुने गरेको गुनासो आएपछि मन्त्रालयले सरकारी अस्पताललाई आकर्षक र सुन्दर बनाउँदै बिरामी मैत्री बनाउन रकम पठाएको बुझिएको छ । लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण डा. ईश्वरी खनालले अस्पतालमा भौतिक पूर्वाधारको सुधार र मर्मतका लागि बजेट आएसंगै अस्पतालको ब्यबस्थापनमा सहज हुने वताए ।
स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल रुकुम, जिल्ला अस्पताल सल्यानमा जनही ६०/ ६० लाख, जिल्ला अस्पताल रोल्पा, जिल्ला अस्पताल प्युठानमा एक करोड बजेट बिनियोजन भएको छ ।
