प्यूठान, २९ वैशाख । स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरीको प्रहरी हिरासतमा रहस्यमय तरिकाले ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । झडपमा ४ जना घाइते भएका छन् । घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन् । खबिराम  टाउकोमा चोट लागेको गम्भीर घाइते भएका छन् । बिहीवार राति गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा फेला परेका थिए ।

affafafउनी गएराति १ बजे शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ । २९ वर्षका गिरीको प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन् । घर झगडाको विषयमा अनुसन्धान गर्न भनि ल्याइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रहरीले भने यो घटनालाई गिरी आफैले आत्महत्या गरेको भने पनि आफन्तले स्विकारेका छैनन् । उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन् । यही विषयलाई लिएर स्थानीय बासिन्दाले रोल्पा–प्यूठान सडकखण्ड बिहानैदेखि बन्द गराएका छन् । दिउँसोसम्म प्रहरीले वास्तविकता दिन नसकेको भन्दै स्थानीय बासिन्दा र पीडित पक्षले इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए ।

स्थानीय बासिन्दाको ढुङ्गा प्रहारबाट चौकीको भवनको झ्याल ढोकाका सिसा फुटेका छन् । प्रहरीले घटनालाई साम्य बनाउन २ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । मृतक व्यक्तिको पोष्टमार्टका आधारमा पीडितका आफन्तहरुले थप संघर्षका कार्यक्रम अघि सार्ने जनाएका छन् भने गिरीको अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन ।