तुलसीपुर, २८ बैशाख । तुलसीपुरका ब्यापारी रत्नबहादुर वलीको अवस्था दश दिन वितिसक्दा पनि अज्ञात रहेको छ । बैशाख १९ गतेदेखि सम्पर्क विहिन भएका वलीको खोजीमा सहगोग गरिदिन जिल्लाका सहकारी कर्मीहरुले आग्रह गरेका छन् ।

vsafजिल्ला सहकारी संघ, तुलसीपुर नगरस्तरिय सहकारी सञ्जाल, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था र सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आज छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै वलीको खोजी गरी सत्यतथ्य विवरण सार्बजनिक गर्न माग गरेका हुन् ।

जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द शर्मा र सचिव कृष्ण प्रसाद शर्माले जारी गरेको विज्ञप्तीमा दश दिन देखि वेपत्ता वलीको खोजीनिती गरि सत्यतथ्य विवरण सार्बजनिक गर्न माग गर्दछौं भनिएको छ । साथै विज्ञप्तीमा वेपत्ता वलीको खोजीमा सहयोग गरिदिन पत्रकार, मानवअधिकारवादी लगायत सबैलाई आग्रह गरिएको छ ।

यस्तै नगरस्तरिय सहकारी सञ्जालका संयोजक हेमराज गौतमले जारी गरेको विज्ञप्तीमा पनि वलीको खोजी गरिदिन सम्बन्धीत निकायलाई आग्रह गरिएको छ । वली नगरस्तरिय सहकारी सञ्जालका सल्लाहकार हुनुहुनछ । त्यस्तै सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वली र सचिव दुर्गा बहादुर खड्काले जारी गरेको विज्ञप्तीमा सहकारी अभियान्ता वली दश दिन देखि वेपत्ता हुँदा प्रहरी प्रसासनले खोजतलासमा कम चासो दिएको उल्लेख छ ।

तुलसीपुर ५ न्युरोडमा आरके सप्लायर्स सञ्चालन गर्दै आएका वलीले प्रयोग गर्दै आएको मोटरसाइकल घोराहीमा व्यवारिसे अवस्थामा फेला परेपनि उहाँ दश दिन देखि सम्पर्क विहिन हुनुभएको छ ।
यता जिल्ला प्रहरी कार्यालय दाङले भने घटनाको बिषयमा अनुसन्धान जारी रहेको बताएको छ । कड डिटेल झिकाएर अनुसन्धान सुरु गरिएको र अहिले सम्मको अनुसन्धानबाट केही भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले बताए ।