रुकुम, २३ बैशाख । पूर्वी रुकुमको यार्सागुम्बा पाइने क्षेत्रहरूमा सुरक्षार्थ युवा परिचालन गरिएको छ । जिल्लाका साविकको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फूलबारी, घोराह, जङ्गला थाङ्गे र तकसेरा गाविसका रामाजीमा र तारावाङ भन्ने स्थानमा युवा परिचालन गरिएको हो ।
यार्सा सिजन शुरू भएसँगै चोरी पैठारी बढ्न थालेपछि स्थानीयले करीब २ सयभन्दा बढी युवा यार्सागुम्बा पाइने क्षेत्रतर्फ पठाएको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष छायाबहादुर पुनले जानकारी दिए ।
रन्मामैकोटबाट ‘एक घर, एक सुरक्षा’ दस्ता बनाएर यार्सा पाइने क्षेत्रमा युवा परिचालन गरिएको अध्यक्ष पुनले जानकारी दिए । बुधवार यार्सा सिजन व्यवस्थापन समितिको बैठक बसी सुरक्षा दस्ता खटाएको छ भने जेठको पहिलो साताबाट यार्सागुम्बा सङ्कलन गर्ने तयारी भएको स्थानीयवासी लजिम पुनले बताए ।
चोरी पैठारी बढेका कारण रुकुमका हिमाली क्षेत्रमा पाइने यार्सा गुम्बा उत्पादन घट्दै गएको छ । गतवर्ष यार्सा उत्पादनमा गिरावट आए पनि यस वर्ष उत्पादन बढ्ने स्थानीयले बताए । विशेषगरी समयमा पानी तथा हिमालमा हिउँ परेका कारण बढ्ने अनुमान गरिएको हो ।
