घोराही, २२ बैशाख । नागरिक समाज दाङले प्रधानन्याधिश सुशीला कार्की विरुद्ध दर्ता भएको महाअभियोग फिर्ता लिन माग गरेको छ ।

समाज दाङका संयोजक टिकाराम रेग्मीको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले सर्वोच्च अदालतका प्रधान न्यायाधीस सुशीला कार्की बिरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको विषयमा छलफल गर्दा उक्त महाअभियोग सम्पूर्ण रुपमा औचित्यहीन हुनुको साथै न्यायपालिकाको स्वतन्त्रतामाथि नै गम्भीर आघात पार्ने देखिएकाले उक्त महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले निकट भविष्यमा हुन थालेको स्थानीय तहको निर्वाचन बहिष्कारको नीति लिएका दलहरुका शान्तिपूर्ण कार्यक्रममाथि राज्यपक्षद्वारा गरिएका दमन, शान्तिपूर्ण रुपमा भेला हुने र विचार अभिव्यक्ति स्वतन्त्रताका खिलाफ भएको नागरिक समाज दाङले ठहर गरेको छ । शान्तिपूर्ण रुपमा सबैलाई आ आफ्ना बिचार, अभिव्यक्त गर्न दिन राज्यसमक्ष अपिल गर्दै निर्वाचन बहिष्कार गरेका दल वा पक्षले आफ्ना कार्यक्रम अहिंसात्मक एवं शान्तिपूर्वक गर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

त्यस्तै लामो समयपछि हुन थालेको स्थानीय तहको निर्वाचन सहज रुपमा सम्पन्न गर्नेतर्फ उचित वातावरण तयार गर्नुका साथै मतदाता शिक्षा प्रभावकारी रुपले सञ्चालन गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरेको छ भने दाङ जिल्लाको गढवा क्षेत्र लगायत विभिन्न क्षेत्रमो बन विनास र अतिक्रमण भैरहेकोले उक्त गैर कानुनी कार्यलाई अविलम्ब नियन्त्रण गर्न र दोषीहरुलाई कानुनी कार्वाहीगर्न जिल्ला बन कार्यालय दाङ र सुरक्षा निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।