शरद रेग्मी
काठमाडौं, २८ चैत । दाङका समाजसेवी तथा युवा व्यवसायी यज्ञवहादुर केसी सम्मानित भएका छन् । सुविधा सम्पन्न हल निर्माणका लागि एक करोडभन्दा बढी पर्ने जग्गा तुलसीपुर उद्योग वाणिज्य संघलाई प्रदान गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सोमबार कदरपत्रसहित सम्मान गरेको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका केसीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित वाणिज्य महासंघको ५१ औं महाधिवेशनको उद्घाटन समारोहमा सम्मान गरेका हुन् ।
व्यवसायी केसीले केही समय अघि एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने तुलसीपुर उपमहानगरपालिकामा रहेको चार कठ्ठा जग्गा तुलसीपुर उद्योग वाणिज्य संघलाई दिएका थिए ।