इन्द्रेणी संवाददाता
वाँके, २१ जेठ
नेपालगन्जमा जमुनाह राँझा सडकखण्ड निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्क्सनले गुणस्तरहीन काम गरेको भन्दै विप्लव माओवादी निकट राष्ट्यि युवा जनस्वयमसेवक भेरी ब्यूरोले बुधबार मध्यरातमा कम्पनीको निर्माण उपकरणमा आगजनी गरेको छ ।aago

नेपालगन्जको सुर्खेतरोडस्थित एनआईडिसी अगाडि रहेको कन्ट्क्सनको फिल्ड कार्यालय परिसरमा पार्किङ गरी राखेको जेसिभी एक्जाभेटरमाथि मध्यरातको १ बजे आगजनी गरिएको हो ।

सात आठजनाको एक समूहले रातिको समयमा कार्यालय परिषरमै राखिएका निर्माण उपकरणमा तोडफोड र आगजनी गरी राष्ट्यि युवा जनस्वयमसेवक भेरी ब्यूरोको नामबाट प्रेस विज्ञप्ति छाडेर गएका थिए । त्यस पर्चामा पप्पु कन्स्ट्रक्सनमाथि आफ्नो समूहले किन कारबाही गरेको भन्नेबारे पाँच बुँदामा उल्लेख गरिएको छ ।
समयमा काम नगरेको, गुणस्तरहीन काम गरेको, गुणस्तरहीन कामलाई ढाकछोप गर्नको लागि राजनीतिक दललाई रात्रिभोज दिएको, सरकारी निकाय, दल, प्राविधिक, इन्जिनियर र गुण्डालाई सडक हस्तान्तरणको लागि पहल गरेको लगायत उल्लेख छ ।

कार्यालयको सुरक्षाको लागि खटिएका चौकिदार रामकृष्ण चौधरीले एक्कासी १ बजेतिर आगो लागेको मात्र देखेको बताउनुभयो । ‘छतमा पल्टेको थिएँ आगो लागेको देख्ने वित्तिकै होहल्ला गरेंँ र छरछिमेकको सहयोगमा आगो निभाएका हौं’, उहाँले भन्नुभयो ।

पप्पु कन्स्ट्रक्सनका संञ्चालक हरी नारायण रौनियारले अनलाइनखबरसँगको फोनबार्तामा सडकमा भएका त्रुटी सच्याउने क्रम सुरु भएको अवस्थामा आफुहरुमाथि विभिन्न बाहानामा आक्रमण हुनु र प्राविधिक उपकरणमा तोडफोड गरीनु निन्दनीय भएको बताउनुभयो ।

नेकपा माओवादी विप्लव समूह बाँके सेक्रेटरी अशोकले गुणस्तरहीन काम गरेको र समयमा काम सम्पन्न गर्न गैरजिम्मेवार देखाएकोले पार्टी निकट राष्ट्यि युवा जनस्वयमसेवक भेरी ब्यूरोले चेतावनी स्वरुप कारवाही गरेको भन्दै घटनाको जिम्मा लिनुभएको छ ।

यसअघि बुधबार दिउँसो विप्लव माओवादीले चितवनको शक्तिखोरस्थित कोलार चुनखानी कार्यालय र खानीमा प्रयोग गरिएको डोजर तोडफोड र आगजनी गरेको थियो । चेपाङवस्ती जोखिममा पारेर चुनढुंगा उत्खनन् गरिएकाले ‘कारबाही’ गरिएको विप्लव माओवादीले जनाएको छ ।।