इन्द्रेणी संवादाता
दाङ, २१ जेठ
दाङ हापुरका महिलाहरुले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समुहमा आबद्ध भएपछि अधिकारका बारेमा ज्ञान र क्षमता बिकासमा सहयोग पुगेको बताएका छन् ।
दुई बर्ष पहिले गठन भएको निगरानी समुहमा आबद्ध भएपछि साविकको हापुर गाबिस तहमा स्वास्थ्य, शिक्षा र खाद्य अधिकार सँगै चौतर्फि क्षेत्रमा चासो राख्ने र खबरदारी गर्न सक्ने भएको महिलाहरुले बताएका हुन् ।
स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तगत गठित निगरानी समुहमा आबद्ध व्यक्तिहरुले महिला र बालवालिका विकासमा आउने बजेट बिस्तारै सहि ठाउँमा प्रयोग हुन थालेको बताएका छन् ।
इन्सेक क्षेत्रिय कार्यालय नेपालगञ्जले हापुर बिजौरीमा आयोजना गरेको दुई बर्षे कार्यक्रमको समिक्षा कार्यक्रममा सहभागि महिलाहरुले निगरामी समुह गठनपछि आफुहरुले सेवाप्रदाय संस्थाहरुलाई खबरदारी गर्दै आफ्नो अधिकारका बारेमा समेत ज्ञान बढेको बताएका छन् ।
निगरानी समुहका अध्यक्ष देबा केसीको अध्यक्षता एवं इन्सेक नेपालगञ्जका फोकल पर्सन सरस्वती मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गढी टाकुरा महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरा केसीले समुहमा आबद्ध भएपछि अधिकार सँगै लक्षीत बर्गको पक्षमा आउने बिकास बजेटलाई सही सदुपयोग गर्न थालेको बताउनुभयो ।