इन्द्रेणी संवाददाता
जाजरकोट, २० जेठ
खडेरीले हिउँदेबालीको उत्पादन घटेपछि जाजरकोटका दर्जनौ गाविसमा खाद्य संकट चुलिएको छ । जिल्लाका रग्दा, नायकबाडा, भगवती, पजारु, दशेरा, रोकायगाउँ, रामीडाँडा, सक्ला, दह, कोर्ताङका गाउँहरूमा खाद्य संकट चुलिएको छ ।jkt

लामो खडेरी, असिना, हावाहुरीले गहुँ, जौ, मसुरो, चनालगायत हिउँदे बाली उत्पादन घटेको छ । गाउँमा अन्नको गेडो नहुँदा, खाद्य डिपोमा पनि चामल नपुग्दा छाक टार्न अफ्ठेरो भएको पजारु–८ का लालवीर बाँठाले वताउनुभयो ।

नेपाल खाद्य संस्थानले चालु आर्थिक वर्षमा पजारुको घोगी ढिपोमा १५ र दशेरा डिपोमा २५ क्विन्टल मात्र चामल पठाएको छ । संस्थानको सदरमुकामस्थित गोदाममा भने २ हजार २ सय क्विन्टल चामल मौज्दात छ ।

गाउँका चार डिपोमार्फत नियमित चामल वितरण नहुँदा दुर्गम गाउँमा खाद्य अभाव भएको हो । घाट डिपोबाट १ हजार र चौखा डिपोबाट १ हजार १ सय क्विन्टल चामल वितरण भए पनि अभाव उस्तै भएको स्थानीय वीरबहादुर मल्लले बताउनुभयो ।

जाजरकोटमा १७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टरमा उत्पादन नगण्य रह्यो । हिउँदे बालीको मौसममा २२ हजार मेट्रिक टन अन्न उत्पादन घटेको वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनुभयो । खेतबारीमा ९० प्रतिशतसम्म खाद्यान्न उत्पादन घटेको छ ।।