काठमाडौँ, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो कार्यकालको पहिलो औपचारिक चीन भ्रमणमा जाने हुनुभएको छ । चीनको हाइनान प्रान्तमा हुने बोआओ फर एसिया सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ आगामी चैत १० गते त्यसतर्फ जानुहुने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

PM-Dahalप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। ऋषिराज अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले चीन सरकारसँग सम्मेलनका अतिरिक्त नेपाल–चीनको द्विपक्षीय हित तथा सम्झौतामा हस्ताक्षरका विषयमा छलफल गरिरहेको छ । ‘प्रधानमन्त्री चीनको भ्रमणमा जानेबारे छलफल कार्यसूचीमा छ । तर, अझै तय भइसकेको छैन । भोलि (मङ्गलबार) दिउँसोसम्म टुङ्गो लाग्छ’ उहाँले भन्नुभयो । गोरखापत्रमा खबर छ । ‘प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल भइरहेको छ ।

यही चैत १० गते करिब एक हप्ताको औपचारिक चीन भ्रमणमा जाने भन्ने कुरो छ, अन्य कार्यक्रम भने तय हुन बाँकी छ’ प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आर्चायले पनि पुष्टि गर्नुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले प्रधानमन्त्रीको चीन भ्रमणबारे मन्त्री र पराराष्ट्रसँग प्रारम्भिक परामर्श मात्र भएको बताउनुभयो । ‘प्रधानमन्त्रीको चीन भ्रमण परराष्ट्र मन्त्रालयले तय गर्नुपर्छ र मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । यी दुवै कुरा भएका छैनन् । त्यसैले अहिले नै चीन भ्रमणको मिति तय भइसकेको छ भन्न मिल्दैन’, उहाँले भन्नुभयो ।