काठमाडौं, २७ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री र राप्रपाका नेता दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन।
राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री दाहालले थापा र गिरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। थापा र गच्छादार सरकारमा सहभागी भएपछि झण्डै दुई तिहाई बहुमतको समर्थन सरकारलाई प्राप्त हुनेछ।
एमालेसहित दुई सय एक सांसद संविधान संशोधनको विपक्षमा देखिएका छन्। संसदमा पाँच सय ९४ सांसद छन्। मधेशी मोर्चाले सरकारलाई समर्थन फिर्ता लिए पनि सरकारसँग प्रष्ट बहुमत रहनेछ। थापा थपिएपछि मन्त्रिपरिषदमा ३१ मन्त्री र १४ राज्यमन्त्री गरी ४५ जना भएका छन्।
अब मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री भएका छन्। यसअघि बिमलेन्द्र निधिले उपप्रधान तथा गृह र कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। आफू निकट संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई अन्य मन्त्रालयको जिम्मेवारी दिएर सरकारमै राख्ने प्रधानमन्त्री दाहालको प्रयास असफल भएपनि संविधान संशोधनको विपक्षमा रहदै आएका राप्रपाका अध्यक्ष थापालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री दाहालले कमजोर हुन लागेको सरकारलाई बलियो बनाएका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले मन्त्री पाण्डेलाई अर्को मन्त्रालयमा स्थानान्तरण हुन गरेको आग्रहलाई अस्वीकार गर्दै मन्त्री पाण्डेले आफू पार्टीमा रहेर सरकारलाई सहयोग गर्न तयार रहेको जनाऊ दिएका छन्। अन्नपूर्ण पोष्टबाट
