काठमाडौँ, २३ फागुन । नेपाल वायु सेवा निगमले खरिद् गर्न लागेका वाइड बडीका जहाजको खरिद् प्रक्रियामा भ्रष्ट्राचार भएको उजुरी परेको छ । निगमले जहाज खरिद्का लागि अमेरिकी कम्पनी एएआरसँग सम्झौताको तयारी गरिरहेका बेला खरिद् प्रक्रियामा भ्रष्ट्राचार भएको भन्दै व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा उजुरी परेको हो ।

nepal airlineएएआर अन्र्तराष्ट्रिय टेन्डरमार्फत छनोट भएको कम्पनी हो । निगमले फ्रान्सेली कम्पनी एयरबसका ए ३ सय २०—२ सय सिरिजका दुई वटा वाइड बडी जहाज खरिद्का लागि चैत १५ गतेसम्म सम्झौता गर्ने तयारी गरेको छ । निगम र एएआरबी गत माघ १४ गते जहाज खरिद् सम्बन्धी समझदारी भइसकेको छ ।

तर लेखा समितिले आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाही र निगमको व्यवस्थापनलाई बोलाएर छलफल गरी उजुरीका आधारमा खरिद् प्रक्रियामा भ्रष्ट्राचार नभएको प्रमाण सहितको लिखित जवाफ ५ दिनभित्र पेश गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले वाइड बडीका जहाज खरिद्पछिको जनशक्ति व्यवस्थापन र सञ्चालन योजना सहितको कार्ययोजना एक महिनाभित्र पेश गर्न पनि निगमलाई निर्देशन दिएको छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने वाइड बडीको जहाजको खरिद् प्रक्रियामा एक रुपैयाँ पनि भ्रष्ट्राचार नभएको दाबी गरे ।

उनले सार्वजनिक खरिद् ऐन र नियमावली तथा निगमको आर्थिक विनियमावलीका दफा अनुसरण गरेर जहाज खरिद्को प्रक्रिया अगाडि बढाइएको भन्दै टेण्डर नपरेपछि रुष्ट व्यक्तिहरुले निगममाथि भ्रष्ट्राचारको आरोप लगाएको बताए ।

निगमका प्रबन्ध निर्देशक कंसाकारले जहाज खरिद् र आलु खरिद उस्तै भएको भन्दै जहाज खरिद्लाई ठूलो विषयका रुपमा नलिन सांसद्हरुसँग आग्रह गरे । कारोवारमा खबर छ । समितिले निगममा तीन महिनाभित्र रणनीतिक साझेदार भित्र्याइसक्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।