काठमाडौं, २३ फागुन। स्थानीय तहको संख्या ७४४ हुने भएका छन् । आइतवार सम्पन्न मन्त्रीपरिषदको बैठकले यो संख्यामा स्थानीय निकाय बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको संख्या निश्चित गरेको हो ।

sthaniya-nikayaबैठकले विशेष गरी मधेशको दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप गरेको हो । बैठकले नुवाकोटमा जिल्ला प्राविधिक समितिले सिफारिस गरेकै स्थानीय तहलाई मान्यता दिएको छ भने खोटाङमा आयोगले गरेको सिफारिसलाई नै मान्यता दिएको छ । त्यसैगरी मनाङमा एक स्थानीय तह थप गर्ने र बझाङ्को काँडा गाबिसलाई छुट्टै स्थानीय तह बनाउने निर्णय गरेको छ ।

राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या र संरचनाबारे आवश्यक निर्णय लिन सकिने पनि बैठकले निर्णय गरेको छ । बैठकले निर्वाचनको तयारी गम्भीर रुपमा अगाडि बढिरहेको सन्दर्भमा सरकारी कर्मचारीलाई बन्द, हड्ताल र सरकारी काममा कुनै पनि अवरोध नगर्न निर्देशन दिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डले जानकारी दिए ।