काठमाण्डौ १९ फागुन । मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत् चोरी आरोपमा १५ व्यवसायीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष कैद सजाय माग गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको डिएसपी रवीन्द्र रेग्मीले बताए । ठगी मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुनेमा संगठित अपराध मुद्दामा ५० प्रतिशत थप सजाय हुन्छ ।
मिटर उल्टो घुमाएर ठगी गरेको आरोपमा मिटररिडर र सुपरभाइजर गरी प्राधिकरणका १५ कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । मिलेमतोमा विद्युत् चोरीको आरोप लागेका सात व्यवसायीसमेत पक्राउ परेका छन् । फरार आठ कर्मचारी र आठ व्यवसायीलाई समेत प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको छ ।
प्रहरीले २३ कर्मचारी सबैको बिगो दाबी एउटै कायम गरेको छ । व्यवसायीलाई भने फरक–फरक बिगो दाबी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।
महिनामा लाखौ रुपैयाँको विद्युत् खपत गर्ने उद्योगहरूबाट कमिसन लिएर मिटररिडरहरूले मिटरको सुई उल्टो घुमाएर राज्यलाई ठगी गर्दै आएका थिए । कमिसन लिएर कर्मचारीले मिलेमतोमा वर्षौैदेखि प्राधिकरणलाई करोडौ नोक्सान पु¥याउँदै आएका थिए । प्रहरीका अनुसार अनुसन्धानमा सयौ उद्योगबाट उनीहरूले मिटर घटाएर पैसा लिने गरेको खुलेको थियो । नयाँ पत्रिकाबाट