काठमाडौं १९ फागुन । ‘हार्नेसिङ इन्भेस्टमेन्ट अपर्चुनिटी अफ नेपाल’ अर्थात् ‘नेपालमा लगानीका सम्भावनाको उपयोग’ भन्ने नाराका साथ बिहीबारदेखि सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता गरी करिब ९ सयजना सहभागिता रहने लगानी बोर्डले जनाएको छ ।
बोर्डका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार सम्मेलनमा विभिन्न मुलुकका करिब २ सय ५० विदेशी लगानीकर्ताको सहभागिता रहनेछ । उनका अनुसार लगानीकर्ता र विभिन्न सरकारी तथा गैरसरकारी संस्था क्षेत्रका र कूटनीतिज्ञ र राजनीतिक दलका नेता गरी करिब ९ सयजनाको सहभागिता रहनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा प्रमुख वक्ताका रूपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्विनको समेत सहभागिता रहने उद्योग मन्त्रालयले जनाएको छ । सहभागिताका लागि भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङ्कङ्, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रूस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्याण्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।
सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायत क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत हुनेछ ।
हिमालय टाइम्समा खबर छ । सम्मेलनमा नेपालमा लगानीको सम्भावनाका क्षेत्र, लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवं कानुनी सुधारका प्रयास तथा लगानीका तुलनात्मक लाभबारे गहन प्रस्तुती तथा छलफल हुने प्रवक्ता भेटवालले जानकारी दिए ।
करिब एक खर्बको लगानीको प्रतिबद्धता आउने अपेक्षा गरिएको सम्मेलनका लागि करिब २ करोड खर्च हुनेअनुमान गरिएको छ । लगानी बोर्डका प्रवक्ता भेटवालले सम्मेलनका लागि एक करोड ७० लाख खर्च हुने जानकारी दिए ।