काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पर्यटन विकासका लागि भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने र एकीकृत पर्यटन कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ ।

gantabya-nepalपर्यटनसम्बन्धी साप्ताहिक पत्रिका गन्तव्य नेपालले आज यहाँ आयोजना गरेको ‘आर्थिक समृद्धिका लागि पर्यटन’ विषयक अन्तरक्रियामा संयोजक डा भट्टराईले कृषिपछि देशको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले छिमेकी मुलुकबाट एक करोड पर्यटक भित्रयाउने लक्ष्यका साथ अघि बढनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा र माओवादी केन्द्र पर्यटन विभाग प्रमुख लोकेन्द्र बिष्टले आर्थिक समृद्विका लागि विगत र वर्तमानलाई समीक्षा गरेर एकताबद्व भएर सबै तहबाट लाग्नुपर्ने बेला आएको बताउँदै आफ्नो पार्टी त्यसको लागि प्रतिबद्व रहेको बताउनु भयो ।
त्यस्तै नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्य राजेन्द्र सापकोटा र निट नेपालका अध्यक्ष दीपक महतले पर्यटन नै आर्थिक समृद्विको मुख्य आधार भएकाले सबै मिलेर आर्थिक समृद्विका लागि अघि बढ्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा राजनीति हावी भएकाले गति लिन नसकेको विचार व्यक्त गर्नुभयो । सो कार्यक्रममा पर्यटन क्षेत्रमा रहेर सामाजिक सेवामा सक्रिय पर्यटन व्यवसायी सम्मान, पत्रकार पुरस्कार प्रदान र सामाजिक क्षेत्रमा सक्रिय क्लबहरुलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा पर्यटन व्यवसायीहरु विनोद तिम्लिसिना, कृष्ण प्रसाद पाण्डे, दावा छिरि शेर्पा, गीता गुरुङ, विष्णुप्रसाद ज्ञवाली, मनोज कुमार श्रेष्ठ, छिरिङ धोन्डुप, राममणी सापकोटा, शशी लामिछाने, सन्जय पराजुली, पदम आचार्य, भाइकृष्ण खड्का, नवराज श्रेष्ठ, रघु चौधरी र धिरज बज्राचार्य सम्मानित हुनु भएको थियो ।

त्यस्तै न्यूज२४ का पत्रकार सुजन पन्तलाई पनि पुरसकारसहित सम्मान गरिएको थियो । कार्यक्रममा ठमेल पर्यटन विकास परिषद् ( टीटीडीसी ) र सोसाइटी अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( सोट्टो–नेपाल ) मा हालै निर्वाचित भएका कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

टुरिज्म नेपाल डटकमबाट