काठमाडौं, ११ फागुन । फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।
निर्वाचन आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति घोषणा हुँदाको दिन अर्थात फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकलाई स्थानीय तह निर्वाचनमा मताधिकार दिने निर्णय गरेको हो।
सरकारले निर्वाचन घोषणा गरेको भोलिपल्टै बसेको आयोग पदाधिकारीको बैठकले स्थानीय तह निर्वाचन नहुन्जेल मतदाता नामावली दर्ता गर्ने काम स्थगितसमेत गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामावली सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचन मिति घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम समावेश भएका १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै मतदान गर्न पाउने निर्णय भएको बताए । ‘२०७३ फागुन ९ गतेसम्म मतदाता नामावलीमा नाम लेखाएका १८ वर्ष उमेर पूरा भएकाले मात्रै मतदान गर्न पाउनेछन्,’ शर्माले नागरिकसँग भने ‘मंगलबारदेखि मतदाता नामावली संकलनको काम स्थगित गर्न हामीले ७५ वटै जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएर निर्देशन दिएका छौं ।’
शर्माले स्थानीय तह निर्वाचन नहुन्जेल मतदाता नामावली संकलन स्थगित हुने बताए । उनले त्यसपछि अर्को निर्वाचन प्रयोजनका लागि आयोगले मतदाता नामावली संकलन खुला गर्ने जानकारी दिए । नागरिकमा खबर छ । उनले जनतालाई सजिलो होस् भन्ने उद्देश्यले नागरिकता लिएका र १६ वर्ष पूरा भएका व्यक्तिको नाम मतदाता नामावलीमा लेखाइए पनि तीमध्ये १८ वर्ष उमेर पूरा भएकाले मात्रै मतदान गर्न पाउने बताए ।
सोमबारसम्म मतदाता नामावलीमा समावेश भएका व्यक्तिउपर दाबी विरोध र त्रुटि सच्याउन पाँच दिनको समय दिइने छ । शर्माले मतदाता नामावलीमा नाम लेखाएकालाई त्रुटी सच्याउन पाँच दिनसम्म समय दिइएको र त्यसपछि प्रोसेसिङ गरी कुल मतदाताको संख्या निर्धारण गर्ने बताए । उनले मतदाता नामावलीमा दाबीविरोध र त्रुटि सच्याउने अवसरका लागि प्रत्येक निर्वाचन कार्यालयले सूचना प्रकाशित गर्ने बताए । ‘मतदाता नामावलीमा दाबीविरोध र त्रुटि सच्याउन पाँच दिन समय दिइनेछ,’ उनले भने ‘त्यसपछि जम्मा कति मतदाता हुन्छन् भन्ने निर्धारण हुनेछ ।
