वीरगञ्ज, ११ फागुन । संविधान संशोधन नगरी सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चा मंगलबारदेखि फेरि सडक आन्दोलनमा उत्रिएको छ । मधेसका सबै जिल्ला सदरमुकाममा मधेसी मोर्चाले मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेर आन्दोलन सुरु गरेको हो ।
फोटो फाइल
बुधबार आह्वान गरिएको मधेस बन्दलाई सफल पार्न मंगलबार साँझ मधेसी मोर्चाले मधेसका सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गरेको हो ।
वीरगन्ज र कलैयामा पनि मंगलबार साँझ मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गरेको छ । वीरगन्जको घन्टाघर चोकबाट निस्किएको मसाल जुलुस माईस्थान, आदर्शनगर हँुदै नगरका विभिन्न भाग परिक्रमा गरी पुनः घन्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसी दलसँग पटक–पटक धोका दिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि अहिले धोका दिएको बताए ।
मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पनि वीरगन्जमा मंगलबार बिहानै प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेको छ । सद्भावना पार्टी पर्साका उपाध्यक्ष ईश्वर यादव नेतृत्वका नेता–कार्यकर्ताले घन्टाघर चोकमा सरकार र तीन दलविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहनपछि आयोजित कोणसभामा सद्भावना पार्टीका वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफले संशोधनविना सरकारले जबर्जस्ती चुनाव घोषणा गरी मुलुकमा फेरि मुठभेड निम्त्याउन खोजेको बताए ।
यस्तै, बाराको कलैयामा पनि मंगलबार बिहान मधेसी मोर्चाका कार्यकर्ताले टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । सरकारले ३१ वैशाखमा स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेलगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । मोर्चाले बुधबार ११ गते मधेस बन्द गर्ने घोषणा पनि गरेको छ । बिहीबारदेखि १५ दिनसम्म गाउँ–गाउँमा भन्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने मोर्चाले जनाएको छ । अन्नपूर्णबाट
