काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताएका छन् । दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्छ । तर, जनतालाई आम रुपमा त्यसको त्यति ठूलो सरोकार हुँदैन, जनताले आफ्नै जीवन र परिणाम हेरेर परिवर्तन अनुभूत गर्छन् । अहिलेको सन्दर्भमा जनताको मन छुने विषय स्थानीय निर्वाचन नै हो । हाम्रो संविधानले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार दिएको छ ।
स्थानीय तहको निर्वाचनपछि जनताले नागरिकता, पासपोर्ट, लालपुर्जा आफ्नै आँगनमा पाउँछन्, आफैले आफ्नो साधन र स्रोतको परिचालन गर्छन्, त्यसपछि बल्ल उनीहरुले गणतन्त्र र संघीयताको वास्तविक महत्व बुझ्छन् र त्यसको स्वामित्व लिन्छन् ।’
सरकारले घोषणा गरेको निर्वाचनबारे चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘निर्वाचन एउटा अभियान हो, आन्दोलन पनि हो । सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार, सामाजिक संघसंस्था एकढिक्का भएर अभियानका रुपमा लागेर निर्वाचन सफल पारौं । स्थानीय तहको निर्वाचनपछि देशको मुहार बदलिनेछ, जनताको जीवन बदलिनेछ ।’
अहिलेको युग सूचना प्रविधिको युग भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भने ‘२१ औं शताब्दीलाई सूचनाको युग, सञ्चारको युग भनेर चिनिन्छ । सूचना, सञ्चारको क्षेत्रमा नेपालले पनि ठूलो फड्को मारिसकेको छ । सञ्चारको गुणात्मक विकासका लागि सरकारले के गर्नुपर्छ, तपाईहरु सल्लाह गरेर सरकारलाई सुझाव दिनुस्, सरकार त्यसका लागि तयार छ । सञ्चार क्षेत्रमा देखिएका विकृति राज्यले होइन, तपाईहरुको आफ्नै प्रतिस्पर्धाद्वारा नियन्त्रण र मर्यादित गर्नुस् ।’
