जाजरकोट, १० फागुन । जिल्लाभरिका शिक्षक शैक्षिक गुणस्तर सुधारका लागि भन्दै शैक्षिक सामग्री निर्माणमा जुटेका छन् । बजारमा पाइने सामग्री महँगो भएको भन्दै स्थानीय रुपमा पाइने स्रोत सामग्रीलाई प्रयोगमा ल्याई शैक्षिक सुधार गर्न सकिने शिक्षकको भनाइ छ ।
शैक्षिक सामग्री निर्माण गर्नका लागि विभिन्न विधि र विद्यार्थीलाई ठोस रुपमा ज्ञान आर्जन गर्ने वातावरण निर्माणका लागि यहाँका शिक्षकलाई तालिम दिइएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो ।
तालिममा सिकेका कुरा कक्षा कोठामा गएर प्रयोग गर्न समस्या भएको भन्दै सो निदानका लागि शिक्षकले नै पहिले सिक्नुपर्ने तालिमका प्रशिक्षकको जोड छ ।
यहाँका शिक्षकले पाठयोजना निर्माण नगरी खाली कक्षा कोठामा गई पाठ भट्याउँदा विद्यार्थीको सिकाइ उपलब्व्धि गुमेको भन्दै जिल्ला शिक्षा कार्यालयले अब नयाँ विधि प्रयोग गरी विद्यार्थीको सिक्न पाउने अधिकार सुनिश्चित गर्न जिल्लाभरिका शिक्षकलाई तालिम दिएको बताएको छ । स्थानीयरुपमा भएका शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीको सिकाइ पनि दिगो हुने शिक्षकले नै बताएका छन् ।
माल पाएर पनि चाल नपाउँदा आफूहरुले कक्षा कोठामा प्रभावकारी शिक्षण गर्न नसकेको शिक्षकले बताएका छन् । शिक्षण गर्ने कला र आवश्यक विधिको अभावमा जिल्लाको शैक्षिक अवस्था सुधार्न मुस्किल भएको जिल्ला शिक्षा कार्यालयले बताउँदै आएको छ ।
तालिम लिएर गएका शिक्षकले विद्यालयमा कस्तो पढाए र कति सिकाइ उपलब्धि भयो भनेर मापन नगरी अब करार शिक्षकको म्याद र स्थायी शिक्षकको गे्रड नथपिने जिल्ला शिक्षा अधिकारी सिंहले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीले हासिल गरेको सिकाइ उपलब्धिलाई मात्र जोडेर शिक्षकको स्तरोन्नति हुने कार्यालयको यो अभियानसँगै जिल्लाको शैक्षिक उन्नति हुने आशा व्यक्त गरिएको छ । विद्यार्थीलाई विद्यालयमा उपस्थित गराउनु र आवश्यक ज्ञान आर्जन गराउनु पहिलो दायित्व शिक्षककै भएको भन्दै जिल्ला शिक्षा कार्यालयले यो अभियानमा सबैले साथ दिन अनुरोध समेत गरेको छ ।
अरुलाई सिकाउनका लागि पहिले आफैँले धेरै सिक्नुपर्ने शिक्षाको क्षेत्रमा काम गर्दै आएको आसवान नेपालका जिल्ला संयोजक नेत्रलाल सुनारले बताउनुभयो ।
जाजरकोटका करिब ४५२ विद्यालयका शिक्षकलाई यो शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग र स्थानीय स्तरमा रहेका वस्तुबाट शैक्षिक सामग्री निर्माणको तालिम दिइएको छ ।
विशेष गरी नेपाली र गणित विषयको सिकाइ विधि मूल्याङ्कन र असल अभ्यास जिल्लाभरिका शिक्षकलाई गराइएको छ । आसवान नेपालको सहकार्यमा जिल्ला शिक्षा कार्यालयले यस्तो तालिम दिएको हो । रासस
