काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहलगायत तीन तहका निर्वाचन गराउन आजको आवश्यकता भएको बताएका छन् । निर्वाचन दिवसको अवसरमा आज राजधानीमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन गर्नु र गराउनु संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष भएको बताएका हुन् ।
‘आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन पूरा गरी संविधानको कार्यान्वयन गर्ने दायित्व हाम्रोसामु छ’, उनले भने, ‘निर्वाचनको स्वच्छता तथा सर्वस्वीकार्यताको माध्यमबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र खास गरी वर्तमान सन्दर्भमा संविधान कार्यान्वयन गर्न गराउन मद्दत पुग्ने हुनाले निर्वाचन नै आजको महत्वपूर्ण आवश्यकता रहेको छ ।’
नेपाल सरकारले मन्त्रीपरिषदको बैठकबाटै निर्वाचन आयोगलाई आगामी बैशाख अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको उल्लेख गर्दै प्रचण्डले रिक्त रहेका निर्वाचन आयुक्तहरुको पदपूर्तिले पूर्णता पाएको सन्दर्भमा अब निर्वाचनप्रति आशङ्का गरिरहनु जरुरी नरहेको बताए ।
