दाङ, ६ फागुन । नेकपा (माओवादी केन्द्र) दाङको जिल्ला सम्मेलन आगामी चैत १८ र १९ गते हुने भएको छ । शनिबार माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले विज्ञप्तीमार्फत् यसअघि फागुन ८ र ९ गते हुने भनिएको सम्मेलन चैत्र १८ र १९ गते गर्ने निर्णय गरिएको जानकारी दिनभएको हो ।
विज्ञप्तीमा सम्मेलनको आवश्यक तयारी नपुगेको हुँदा सम्मेलनको मिति सारिएको जनाइएको छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
१० माओवादी घटक तथा विभिन्न समूहहरुको माओवादीले पहिलोपटक सम्मेलन गर्न लागेको हो । माओवादीले राज्यपुनःसंरचना आयोगले सिफारिस गरेको नयाँ भुगोलअनुसार वडा, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका सम्मेलनहरु गरिसकेको छ ।