काठमाडौं, ६ फागुन । ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने धारणा राखेका छन् । अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

Janardan-sharnaउनले स्थानीय तहको निर्वाचनपछि नयाँ संविधानले संस्थागत गरेका अधिकारहरु प्राप्त हुने ठोकुवा गर्नुभयो । मन्त्री शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्र शुरु गरेको भन्दै प्रतिगामनकारी हर्कतहरुलाई ठेगान लगाउन स्थानीय तहको चुनाव जरुरी रहेकोमा जोड दिए । “पूराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोशिस गर्दैछन ।”

मन्त्री शर्माले भने “ स्थानीय तह र प्रदेशको चुनाव मार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ ।” उनले राजनीतिक रुपमा भएका परिवर्तनहरु राज्यको संरचनागत परिवर्तनपछि मात्र व्यवहारमा लागु हुने बताए ।

अर्को प्रसंगमा मन्त्री शर्माले उर्जामन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको उल्लेख गरे । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउदै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए ।