नेपालगञ्ज, ६ फागुन । बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ कक्षासम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाई सीप बढाउन समुदायस्तरमा गठन गरिएका टोल पढाई समुहहरुको सक्रियताले गर्दा उनिहरुको पढाई सीपमा सुधार आउन थालेको छ ।

educationबालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउनका लागि जिल्लामा ६ सय ७८ वटा टोल पढाई समूह निर्माण गरी ती समूहहरुले बालबालिकाको पढाई सीप सुधारमा सक्रिय रुपमा लागेपछि पढाई सीपमा सुधार आउन थालेको हो ।

युएसएडको आर्थिक सहयोगमा बाँकेका ३ सय ५९ वटा बिद्यालय र मदरसामा बाँके युनेस्को क्लबमार्फत संचालन गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत टोल पढाई समुहले विद्यालय बिदाको दिनमा, चाडपर्वको बेलामा वा विद्यालय अघिपछि खेलेर बिताउने समयलाई टोल पढाई समूहको सहयोगमा बालबालिकाले पढ्ने तथा सिक्ने गरी पढाउन शुरु गरिएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।
बालबालिकाको पढाई सीप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि नेपाल सरकारले शुरु गरेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत बाँकेमा गठन गरिएका टोल पढाई समुहहरु अहिले स्थानीय पढाई सामाग्री निर्माणमा ब्यस्त छन् ।

बालबालिकाहरुको पढाई तथा सिकाईलाई प्रोत्साहित गर्ने उदेश्यले हाल स्थानीय रुपमा सबै टोल पढाई समुहहरुले पढाई सामाग्री निर्माण कार्यलाई तिव्र गतिमा अगाडी बढाई रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

यसैविच बाँकेमा संचालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमको संयुक्त जिल्ला अनुगमन समितिले सोमवार अनुगमन गरेको छ । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाको नेतृत्वमा बिभिन्न कार्यालयका प्रतिनिधी र पत्रकार सम्मिलित अनुगमन समितिले जिल्लाको गनापुर गाविसमा रहेको दारुलउलुम गुलशने इस्ताकिया गनापुर टोल पढाई समुह र महादेवपुरी बालापुरमा रहेको शिवशक्ति टोल पढाई समुहको अनुगमन गरेको होे ।

टोल पढाई समुहमा आवद्ध समुदायका अगुवाहरुले आफ्ना बालबालिकाको पढाई शिप सुधारका लागि निकै परिश्रम गरेको र स्थानीयस्तरमा पढाई सामाग्री निर्माणको कार्य राम्रो तरिकाले भैरहेको पाईएको अनुगमनपछि सहायक जिल्ला शिक्षा अधिकारी थापाले बताउनु भयो । उहाँले टोल पढाई समुहको सक्रियताले बालबालिकाको पढाई शिप सुधार हुने संकेतहरु देखिन थालेको बताउनु भयो । दारुलउलुम गुलशने इस्ताकिया टोल पढाई समुह गनापुरका संयोजक ईद्रिसी सल्मानीले टोल समुह गठन गरिएपछि पढाईमा बालबालिकाको चासो बढेको जनाउँदै समुह गठनपछि विदाका दिनमा बालबालिकालाई पढाउन सहज भएको बताउनु भयो ।

अनुगमन टोलीमा जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति बिष्णु पौडेल, गैर सरकारी संस्था महासंघका क्षेत्रीय अध्यक्ष प्रमोद रिजाल, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यक्रम प्रबन्धक बल बहादुर भण्डारी, कार्यक्रम संयोजक रवि तुलाधर, क्लबका बित्त प्रबन्धक वेद प्रकाश पंगाली, प्रारम्भिक कक्षा पढाई कार्यक्रमका राजेश सोनी लगायतको सहभागिता रहेको थियो ।

प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ६२ हजार बालबालिकाको शैक्षिक शिप विकासका लागि काम गरिरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । गोरखापत्रबाट