काठमाडौं, ६ फागुन । प्रमुख तीन राजनीतिक दलले एकल सहमतिबाट मात्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको भन्दै मधेसी मार्चाले आन्दोलन घोषणा गर्ने जनाएको छ । तीन दल आइतबार नै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको भन्दै सोही दिनमा आफूहरुले पनि आन्दोलन घोषणा गर्ने तयारीमा रहेको मधेसवादी नेताहरुले बताएका छन् ।
मधेसी मार्चाले संविधानप्रति नै असन्तुष्ट जनाउदै आएको छ । संविधानलाई फेरि संसोधन गरी सबैको सहमतिमा स्थानीय तहको निर्वाचनको मिति तय गरिनुपर्ने मार्चाले माग गर्दै आएको छ । आन्दोलनको तयारीमा जुटेको मोर्चाले जनाए पनि प्रमुख दलहरुका शिर्ष नेतासँग छलफल भने जारी राखेको जनाएको छ ।
सरकारले आइतबार निर्वाचनको मिति घोषणा नगरे आफूहरुले पनि आन्दोलनका कार्यक्रम घोषणा नगर्ने संकेत दिएको छ । विहीबार मात्रै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र प्रधानमन्त्रीसँग छलफल भएको थियो । ‘मधेसी मार्चालाई सहमतिमा नलिएर चुनाव घोषणा गरे त्यसैदिन हामी आन्दोलन घोषणा गर्छाै’, अध्यक्ष महतोले भने ।
