काठमाडौं, ६ फागुन । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी ९जिगेलो० छन् । यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाइमा विकाससँग साझेदार अन्तर्राष्ट्रिय निकायको सहयोगमा इन्टरपिड नेपालले चार महिना लगाएर गरेको अध्ययनले नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो मात्रामा रहेको समेत दाबी गरेको छ ।
पहिलोपटक सन् २०१० मा मुलुकमा महिला यौनकर्मीहरूको तथ्यांक संकलन गरिएको थियो । सो अध्ययनले २८ हजारको हाराहारीमा महिला यौनकर्मी रहेको देखाएको थियो । त्यसको ६ वर्षपछि गरिएको अध्ययनले सो संख्या बढेर झन्डै ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।
अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीहरूको संख्या ११ हजार ६ सय ७० रहेको अनुमान गरेको छ । २०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६ सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ । त्यसैगरी, अध्ययनबाट आएको नतिजाले नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेको संख्या करिब ३४ हजार रहेको अनुमान गरेको छ । जसमध्ये पुरुषको संख्या ३० हजारको हाराहारीमा र महिलाहरूको संख्या ३ हजारको हाराहारीमा छन् ।
६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा। तरुण पौडेलले बताए । उनले अध्ययनका क्रममा आएको नतिजाबीच धेरै भिन्नता देखिए पनि यसलाई अन्यथा लिन नहुने बताए । ‘यो हुँदै नभएको तथ्यांक पक्कै होइन, केही फरक देखिएको होला,’ उनले भने । राजधानी दैनिकबाट