दाङ, ३ फागुन । दाङको घोराहीमा मानक नेपाली भाषासम्बन्धी अभिमुखीकरण गोष्ठी हुने भएको छ । मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जाल र राप्ती शिक्षा क्याम्पस घोराही दाङको आयोजनामा यही फागुन ९ गते घोराहीमा अभिमुखीकरण गोष्ठी हुने भएको हो ।
केही समय यता नेपाली भाषाको मानक स्वरुप र वर्णविन्यासको स्तरीयकरणबारे विभिन्न विवाद र अन्यौल भइरहेको परिप्रेक्षमा उक्त कार्यक्रमले मानक नेपाली भाषाको वर्णविन्याससम्बन्धी भएको अन्यौललाई निराकरण गर्न महत्वपुर्ण भूमिका खेल्ने आयोजकले बताएको छ ।
नेपाली भाषाको मानक रुप कायम रहने गरी त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग , पाठ्यक्रम विकास केन्द्र , नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका आधिकारिक निकायबाट केही महत्वपूर्ण निर्णयहरू भइसकेको साथै नेपाली विषयका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य, विद्यावारिधी आदि सबै तहका शिक्षण, प्रतिबेदन लेखन तथा शोध कार्यमा के कस्तो मानक नेपाली वर्णविन्यासको प्रयोग गर्ने भन्ने परिपत्र समेत मातहतका विभिन्न क्याम्पसमा भइसकेको तर १० + २ र सो भन्दा मुनिका तहहरुमा शिक्षण गर्ने नेपाली भाषाका शिक्षकहरू तथा अन्य प्रयोक्ता हरूलाई जानकारी गराउनुपर्ने आवश्यकता हुन आएकाले उक्त गोष्ठी फलदायी हुने आयोजकले बताएको छ ।
मानक नेपाली भाषासम्बन्धी दाङमा पहिलो पटक आयोजना गर्न लागिएको गोष्ठीमा राप्ती शिक्षा क्याम्पस दाङ , महेन्द्र बहुमुखी क्याम्पस दाङ ( नेपाली विभाग ) ,विद्यानीलकण्ठ क्याम्पस दाङ , प्याव्सन दाङ, एन प्याव्सन दाङ , सिद्धार्थ एकेडेमी दाङ , लालीगुराँस मा .वि दाङ , अल्फा मा. वि दाङ , सहिद स्मृति मा .वि दाङ , ज्ञानज्योति मा. वि दाङ लगायतका विभिन्न संस्थाहरुको समन्वय रहने बताइएकोछ ।
गोष्ठीमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र कोषाध्यक्ष सह प्रा.डा. नारायणप्रसाद गैरेले मानक वर्णविन्याससम्बन्धी परिचर्चा गर्ने तथा अध्यक्षले कार्यपत्र प्रस्तुत गर्ने र अन्य सहभागीहरूसंग वृहत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जाल राप्ती समितिका संयोजक चन्द्रबहादुर थापाले बताएका छन् ।
उक्त कार्यक्रममा नेपाली विषयका सम्पूर्ण प्राध्यापक , शिक्षक, पत्रकार , नागरिक समाजका अगुवा , साहित्यकार, भाषाप्रेमी लगायत सबैलाई यहीं फागुन ९ गते दिउँसो ११ बजे पत्रकार महासंघ दाङ घोराहीको सभाहलमा सहभागी भई लाभ लिनुहुन आयोजकले सबैमा अनुरोध गरेको छ ।
