बिमल गौतम
तुलसीपुर, ३ फागुन । तुलसीपुर नगरपालिका वडा नम्वर ३ का महिलाहरुलाई स्वास्थ्य सम्वन्धि जनचेतना दिन थालिएको छ । महिलाहरुले आफुमा रहेका बिभिन्न खालका स्वास्थ्य समस्याहरु लुकाएर राख्दा समस्या हुने भएकाले उनीहरुलाई सचेत पार्नका लागि स्वास्थ्य सम्वन्धि सचेतना दिन लागिएको सामाजिक परिचालक लिना शर्माले जानकारि दिए ।
तुलसीपुर नगरपालिका वडा नं. ३ को महिला लक्षित कार्यक्रम अन्र्तगत तुलसीपुर नगरपालिका कार्यालयको आयोजनामा आजदेखि शुरु भएको महिला प्रजनन स्वास्थ्य, बिपत जोखिम तथा महिला हिंसा सम्वन्धि जनचेतना कार्यक्रममा राप्ति अंचल अस्पताल तुलसीपुरमा कार्यरत डाक्टर सफलता कोजुले महिलाको तल्लो पेट, दुख्ने , महिनावारी समस्या, पाठेघरमा हुने समस्या लगायतका विषयमा महिलालाई सचेत दिएका थिए ।
तुलसीपुर नगरपालिका वडा नं. ३ का सचिव होमबहादुर वलीको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका एलजिसिडिपि अधिकृत भिमबहादुर वलीको प्रमुख आतित्थ्यता एव एलजिसिडिपि कार्यक्रम संयोजक हेमन्त योगीको बिशिष्ट आतित्थ्यतामा भएको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले आफुले सिकेको ज्ञान अरुलाई पनी सिकाउन आग्रह गरेका थिए । कार्यक्रममा वडा भरिका ४० जना महिलाहरुको सहभगिता रहेको छ ।