घोराही, २९ माघ । प्रगतिशील लेखक संघ नेपाल दाङले शनिबार प्रगतिवादी साहित्यकार हृदयचन्द्र सिंह प्रधानको सँझना गरेको छ । प्रधानको ५७ औं स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रलेस दाङ शाखाका अध्यक्ष शरद अधिकारीको अध्यक्षता एवं राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रलेस दाङका सल्लाहकार साहित्यकार टिकाराम उदाशीले साहित्यकार प्रधानको व्यक्तित्व र कृतित्वका बारेमा आफना विचार व्यक्त गरेका थिए ।

उदाशीले साहित्यकार प्रधानले निवन्ध, कथा, उपन्यासका माध्यमबाट नेपाली साहित्यलाई ठूलो योगदान दिएको चर्चा गरे । उनले राणाहरुको विरुद्धमा सशक्त रुपमा कलम चलाउने साहित्यकारका रुपमा मात्रै होइन नेपालमा निवन्ध विधाका शसक्त हस्ताक्षरका रुपमा प्रधानको सँझना गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रलेस दाङका पूर्व अध्यक्ष रामप्रसाद जैसी, निवर्तमान अध्यक्ष तथा राष्ट्रिय परिषद सदस्य केशव थापा, राप्ती साहित्य परिषद दाङका अध्यक्ष् कमलमणि देवकोटा, उपाध्यक्ष खेमराज मल्ल, प्रलेस दाङका कोषाध्यक्ष छविलाल कोपिला, साहित्यकारहरु आशिष कल्पवृक्ष, मनोज थापा मगर लगायतले रचना बाचन तथा मन्तव्य राख्नुभएको थियो ।

प्रलेस दाङका उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव खगेश्वर भण्डारीले गर्नुभएको थियो । प्रलेस दाङले हरेक महिना प्रगतिवादी साहित्यकारको सँझनामा कार्यक्रम गर्ने गरेको छ ।