काठमाडौ, २६ माघ । प्रविधिको विकाससँगै विभिन्न समयमा नेपालमा पनि विद्युतिय भोटिङ मेसिन प्रयोग गर्ने विषय उठिरहेको छ । त्यसैक्रममा निर्वाचन आयोगले पनि तयारी थालेको बताएको छ ।
निर्वाचन आयोगले मंगलवार मात्रै विद्युतिय भोटिङ मेसिनबारे जानकारी दिएको छ । प्रमूख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेको बताए ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिएका थिए भने निर्वाचन आयोगका तर्फबाट विद्युतीय भोटिङ मेसिनका विशेषताबारे जानकारी गराइएको थियो ।
सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन हुने र गर्नैपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘निर्वाचन सम्बन्धि ऐन पारित भइसकेका छन । सरकार निर्वाचनको तयारीमा लागिरहेको छ । अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ ।’