काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका लागि विद्यमान बिदामा पूनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । ६७ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले बिदा कटौति आवश्यक रहेको बताएका हुन्।

DSC0386-848x478बैठकमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामीकहाँ धेरै क्रान्ति भए, दिवस पनि धेरै नै छन्, अर्कोतिर धेरै जातजाति, भाषाभाषी र संस्कृति छन्, ती सबैको ऐतिहासिक योगदानको सम्मान पनि गर्नु छ । तर, बिदा थपिँदै गएर विकास र समृद्धिका काममा बाधा पुग्ने अवस्था पनि त्यत्तिकै छ । त्यसैले हामीले कुन दिनलाई मूख्य राष्ट्रिय दिवसका रुपमा मान्ने भनेर सोच्नैपर्ने भएको छ । बिदा थप्ने होइन, कटौति गर्नेतिर सोच्नुपर्छ ।’

प्रधानमन्त्रीले राज्यद्धारा आयोजित कार्यक्रमहरु औपचारिक हुने, जनताको सहभागिता कमजोर हुने र जीवन्त नहुने समस्या रहेको उल्लेख गर्दै राज्यसँग जनताको सहभागिता सुनिश्चित गर्ने गरी जीवन्त कार्यक्रम बनाउन आग्रह गरे। बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमूखहरु लगायतको उपस्थिति रहेको थियो ।

६७ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फाल्गुण ६, ७ र ८ गते प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने, त्यसका लागि विभिन्न उपसमितिहरु बनाउने र जिल्लास्तरमा समेत कार्यक्रमहरु गर्ने निर्णय लिएको छ ।