काठमाडों, २५ माघ । ३३ किलो सुन आउनु १५ दिनअघिदेखि लगातार एनसेलको एउटा नम्बरबाट कुराकानी भएको देखियो। श्रीनारायण यादवको मोबाइल नम्बरमा दिनको ६ देखि १० पटकसम्म सो नम्बर कनेक्सनमा देखिएपछि प्रहरीको ध्यान कलडिटेल अध्ययनमा मोडियो। करीब ११ दिनपछि सो नम्बर विमानस्थलमै कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीले प्रयोग गरेको पत्ता लाग्यो।

shyam-bdr-khatriत्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले एसएसपी खत्रीमाथि आशंका गर्यो र उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गर्न ब्यूरोका प्रमुख प्रहरी नायव महानीरिक्षक डिआइजी नवराज सिलवालले प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्याललाई अनुरोध गरे। डिआइजी सिलवालको सो अनुरोधपछि अनुसन्धानका लागि भन्दै उनलाई ३ माघमा प्रहरी प्रधानकार्यालय सरुवा गरियो।

त्रिभुवन विमानस्थलबाट सुन तस्करी नयाँ घट्ना नभएपनि त्यहा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नै संलग्न भएर बर्दी सहित पक्राउ पर्नु नयाँ तस्करीमा नयाँ आयम देखिएको छ। एसएसपी श्याम खत्री १५ महिना विमानस्थल बस्दा तस्करी गर्ने समूहलाई कति खुला छाडिदिए भन्ने सबै विवरण तत्काल नखुलेपनि सुन तस्करलाई संरक्षण गरेको अभियोगमा उनी कार्यरत संगठन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले प्रधानकार्यालयबाटै आइतबार दिउसो पक्राउ गर्यो।

विमानस्थलबाट नियमित सरुवा अघि नै ३ माघमा प्रधानकार्यालय तानिएका उनलाई तस्कर र भन्सारका कर्मचारीसँगको नियमित सम्पर्क रहेको र सुन तस्करलाई संरक्षण गरेको अभियोगमा पक्राउ गरिएको हो। केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइवी०का अनुसार पक्राउ परेका मध्ये भन्सारको एक्सरे मेसिनको जिम्मेवारी पाएका अधिकृत श्रीनारायण यादवले एसएसपी खत्रीकै आदेशमा काम गरेको बयान दिएपछि उनलाई ३ माघमा प्रधानकार्यालय तानेर अनुसन्धान शुरु गरिएको थियो। प्रहरीको जिम्मा लिने अधिकारीका रूपमा उहाले नै सम्पर्क गर्नुहुन्थ्यो भनेर बयान दिएपछि सिआइवीका अनुसन्धान अधिकारीहरूले सम्पर्कका अनेक सुत्रहरू खोज्न थाले र अन्तिममा उनालाई पक्राउ गर्ने प्रयाप्त आधार भएपछि बर्दीसहित आइतबार पक्राउ गरेर सिआइवीको हिरासतमा लगे।

तस्करहरूले एसएसपी खत्रीले सुरक्षाको सबै जिम्मा लिएपछि मात्रै यादव मार्फत सुन बाहिर पठाउन सफल भएका थिए। ‘सुन आउनु अघि एसएसपी खत्रीलाई सम्पर्क गरेको र त्यसपछि सबै ठिक छ भनेपछि मात्रै मैले एक्सरे मेसिनमा केही नदेखिएको बताएको हुँ’, यादवको बयान उद्यृत गर्दे सिआइवी स्रोतले भन्यो ‘यादवकै बयानका आधारमा उनीमाथि अनुसन्धान शुरु गरिएको थियो पछि स्काइप र भाइवर समेत प्रयोग भएको देखियो।’

सिआइवी प्रमुख प्रहरी नायव महानीरिक्षक नवराज सिलवालले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा बताउन नमिलेपनि सुन तस्करलाई कानुनी दायरामा ल्याइछाड्ने बताए। ‘प्रहरीकै बर्दी लगाएर तस्करको संरक्षण गरिएको भेटियो त्यही भएर उनलाई पक्राउ गरेरै थप अनुसन्धान गर्नुपर्ने अवस्था आएको हो यसबाट तस्करको मुख्य सञ्जालसम्म पुग्ने सकिने आधारपनि फेला परेको छ यसमा संलग्न जो भएपनि कारवाही हुन्छ’, सिआइवी प्रमुख सिलवालले भने।

प्रहरीले २१ पुसमा दुवइबाट सुन ल्याउने गोपालबहादुर शाही, तस्करका तर्फबाट सुन लिन आउने दिलबन्धु थापा र सन्तोष काफले दोस्रो तहका भरिया काभ्रेका रामहरि कार्कीलाई पक्राउ गरिसकेको छ। साथै भन्सारमा कार्यरत यादव र अर्का अधिकृत राजकुमार ढकाल पनि पक्राउ परेका छन्।

सिआइवीले उनीहरूलाई संगठित अपराध अन्र्तगत ६० दिनको समय लिएर अनुसन्धान गरिरहेको छ। ‘कर्मचारीहरू नै तस्करीमा संलग्न हुन्छन उनीहरू राज्यको संयन्त्र दुरूपयोग गरेर तस्करसँग मिलेमतो गर्छन भने त्यो कडा सजायको भागीदार हुनेछन हामी सुन तस्करी र त्यसको जालो नतोडेसम्म अनुसन्धान कायम राख्छौ’, सिआइवी प्रमुख सिलवालले भने। तस्करलाई एसएसपी खत्रीले नै संरक्षण गरेको सिआइवीको दावी छ। ‘संरक्षण गर्ने अन्य पनि हुनसक्छन यो अनुसन्धान टुङिगएपछि मात्रै सबै विवरण खुलस्त हुनेछ हामी यस्तै अनुसन्धानको चरणमा छौ यसको जरोमै पुग्नेछौ’, सिआइवी प्रमुख सिलवालले भने।

२० पुसमा एयर अरेवियाको जहाजबाट नेपाल आएका शाहीले २१ पुसमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिर निस्कन लागेको बेला सिआइवीको टोलीले सुन सहित पक्राउ गरेको थियो। प्लाष्टिकले र्याप गरेर दुई वटा लगेजमा सुन फेला परेको थियो। लगेजबाट दुई सय ८२ वटा सुनका विस्कुट, औठी र सिक्रीहरू बरामद भएको थियो। नेपाल खबरमा समाचार छ । दुवइमै रहेका गिरोहले सुन पठाउने गरेको प्रहरीले जनाएको छ। हुण्डी कारोबारमा संलग्न युएईमा रहेका नेपालीहरूले नेपालको विमानस्थलमा सेटिङ मिलाएर सुनको तस्करी गर्दै आउने गरेको पनि प्रहरीले जनाएको छ।

सुन, डलर र हुण्डीको कनेक्सन
सुन र डलर तस्करी तथा हुन्डी कारोबारको त्रीपक्षीय कनेक्सन रहेको सिआइवी प्रमुख डिआइजी नवराज सिलवाल बताउँछन्। उनका अनुसार सुन खरिद गर्न डलर लैजाने र त्यो हुण्डी मार्फत कारोवार हुने गरेको छ। ०६८ मा विमानस्थल प्रहरीको मिलेमतोमा डलर तस्करी भएको खुलेको थियो। विमानस्थलबाट अवैध डलर बरामद गर्दा ती व्यक्ति सुन तस्करीमा रहेको खुलेको थियो। नेपालबाट डलर लिएर दुबई जाने र दुबईबाट नेपालमा सुन लिएर आउने गरेको अनुसन्धानमा देखिएको। छानबिन समितिले सुन र डलर तस्करीमा एउटै समूह रहेको प्रतिवेदन दिएको थियो सो प्रतिवेदन अहिलेसम्म गोप्य नै राखिएको छ।

डलर काण्डमै एसएसपी जागिर गयो
२१ असोज २०६९ मा विमानस्थलबाटै १ करोड ५४ लाख रूपैयाँबराबरको डलर र युरोसहित भारतीय नागरिक विनोदकुमार सोनी पक्राउ परेका थिए। सो प्रकरणमा गृह मन्त्रालयले प्रहरीका एसएसपी रविराज श्रेष्ठलाई सेवाबाट बर्खास्त गरेको थियो।

२१ असोज २०६९ मा एयर दुबई विमानबाट दुबई पठाउन लागेको अवस्थामा बरामद एक करोड ५४ लाख मुल्य बराबरको विदेशी मुद्रा तस्करी काण्डमा श्रेष्ठ प्रत्यक्ष संलग्न रहेको अभियोग लागेको थियो। एक करोड ५४ लाख विदेशी मुद्रा दुबईतर्फ पठाउने कार्यमा श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको ठहर गरी आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। श्रेष्ठलाई पेन्सन सुविधा सहित वर्खास्त गरीएको छ।

श्रेष्ठले सो परिणामको विदेशी मुद्रा आफना सहयोगी प्रहरी हवल्दार सोवित कार्कीको सहयोगमा विमानस्थलसम्म पुर्याएर दुवईतर्फ पठाउने गरेको अभियोग प्रमाणित भएको थियो। हवल्दार कार्की मार्फत सो परिमाणको विदेशी मुद्रा विमानभित्र पुरयाइसकिएको भएता पनि विमानमा बम राखिएको हल्ला फिजिएपछि विमानभित्र जाँच गर्ने क्रममा सो रकम बरामद भएको थियो। सो रकम कसरी त्यहाँ पुग्यो भन्ने बारेमा सिसीटिभीको सहयोगमा गरिएको अनुसन्धानमा उनका सहयोगीले सो रकम विमानस्थल पार गराउने काम गरेको पाइएको थियो।

सो घटनापछि फरार रहेका हवल्दार कार्कीलाई पक्राउ गरेपछि घटनाको वास्तविकता खुलेको थियो। उनले एसएसपी श्रेष्ठकै निर्देशनमा उनकै गाडी प्रयोग गरेर विमानस्थल पुर्याएको स्वीकारेका थिए। हवल्दार कार्की माग गरिएको धरौटी रकम बुझाउन नसकेका कारण जेलमा छन्।