इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । दाङबाट सरुवा भएर क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरमा जान लागेका प्रहरी निरिक्षक अरुणकुमार सिंहलाई आज विदाइ गरिएको छ ।

DSCN1066सामुदायिक प्रहरी सेवा केन्द्रले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी सिंहलाई विदाइ र भरखरै सरुवा भएर जिल्ला ट्राफिक कार्यालयमा आएका प्रमुख ओमप्रकाश वाग्लेलाई स्वागत गरेको छ । सिंहलाई अविर र खादासहित मायाको चिनो प्रदान गरेर विदाइ गरिएको थियो भने वाग्लेलाई अविर र खादा लगाएर स्वागत गरिएको थियो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्णुप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले ट्राफिक प्रमुख भएर एक वर्ष दाङमा रहेका प्रहरी निरिक्षक सिंहले यहाँको ट्राफिक व्यवस्थापन गर्नका लागि महत्वपूर्ण योगदान पु¥याएकोमा प्रशंसा गरेका थिए । विदाइका क्रममा सिंहले विदाइ एउटा दुःखद क्षण भए पनि सरकारी सेवामा आवद्ध भएपछि सरुवा एउटा नियमित प्रक्रिया भएको बताए ।

ट्राफिक प्रमुख वाग्लेले एक वर्षको अवधिमा सिंहले दाङको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा केही उदाहरणीय काम गरेको भन्दै त्यसलाई आफूले निरन्तरता दिने बताए । साथै यहाँको ट्राफिक व्यवस्थापनका लागि आफू सधै सबैसँग समन्वय गरेर अघि वढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख अतिथि सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्वअध्यक्ष भुपेन्द्र सुवेदी, सल्लाहकार दीपक शर्मा, उपाध्यक्ष कृष्ण रानालगायतले आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।