
सल्यान, २४ माघ । सल्यानको पश्चिमी भेगका गाविसमा भालुले आतंक मच्चाएको छ । सो क्षेत्रमा जंगली भालुले मान्छेलाई समेत आक्रम गर्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् । कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आक्रमण गर्न थालेको छ ।

साँझ ५ बजेपछि बच्चासहित भालु गाउँमा आउँछ, बाटोमा हिँड्ने जोसुकैलाई पनि आक्रमण गरेर घाइते बनाउँछ, कालीमाटी रामपुर–३ सिमलकुनाका कुलप्रसाद भण्डारीले भने, ‘भालुले गाउँमा आतंक मच्चाउन थालेपछि हामी त्रसित छौं ।’
भालुले गाउँमा आएर मौरीका घारमा पसेर महसमेत खान थालेको कालिमाटी रामपुर–६ का चन्द्रबहादुर वलीले जानकारी दिए । तीन महिनादेखि भालुले सो भेगमा आतंक मच्चाउन थालेकाले स्थानीय मेलापात, जंगल जानसमेत छाडेको लक्ष्मीपुर–१ का नारायण खत्रीले दुखेसो पोखे ।
‘जंगलको बाटो छ, एक्लै हिँड्न सकिँदैन, मोटरसाइकलमा चढेकालाईसमेत लखेट्न थालेको छ,’खत्रीले भने ।भालुको आतंक बढ्न थालेपछि सो भेगमा साँझ ५ बजेपछि गाउँघर सुनसान हुन थालेको उनले बताए ।
