काठमाडौ ,२४ माघ पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
तस्करीलाई सघाएको आरोप लागेका खत्रीलाई आरोप पुष्टि भएपछि सीआईबीले आइतबार प्रहरी मुख्यालयबाटै पक्राउ गरेको हो । विमानस्थलबाट सुन बाहिरिएको दिन पुस २१ गते खत्री विमानस्थलमै थिए । एसएसपी खत्री विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकृत हुन् । विमानस्थल सुरक्षा प्रमुखमा डीआईजी गोविन्द निरौला छन् ।
खत्री सुन तस्करीमा संलग्न भएको भन्दै यसअघि नै पटकपटक उजुरीसमेत परेपछि मुख्यालयले उनीमाथि छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । सीआईबीले त्यसबेला यथेष्ट प्रमाण नपाएपछि तत्कालका लागि अनुसन्धान रोकेको थियो । पुस २१ मा विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको घटनामा छानबिन गर्दा खत्रीको संलग्नता देखिएपछि ब्युरोले उनीमाथि पुनः अनुसन्धान थालेको थियो ।
