दमौली, २३ माघ । कार्यसम्पादनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न माग गर्दै जिल्लाका गाविस सचिवहरु आन्दोलनमा उत्रिएपछि पाँच दिनदेखि गाविस ठप्प भएको छ ।
सरकारले गाविस सचिवहरुलाई कार्यसम्पादनको अधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको भए पनि हाल आएर अर्थमन्त्रालयबाट रोक्का भएको भन्दै गत बुधवारदेखि सचिवहरु आन्दोलनमा उत्रिएका हुन् ।
गाविस सचिवको आन्दोलनका कारण सर्वसाधारण मर्कामा परेका छन् । आन्दोलनले स्थानीय निकायबाट प्रवाह हुने नागरिकताको सिफारिस, जन्म विवाह तथा मत्यु दर्ता, जग्गा नामसारीको स्वीकृत लगायतका काम प्रभावित भएको छ ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल केन्द्रीय कार्यसमितिको निर्णय अनुसार तनहुँ जिल्लाका गाविस सचिवहरु समेत आन्दोलनमा उत्रिएका हुन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र तनहँका अध्यक्ष रामराज न्यौपानेले स्थानीय विकास अधिकारी मार्फत् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा विभिन्न माग सहितको मागपत्र पठाएका छन् ।