Dhaniram sharmaधनिराम शर्मा ( ऋतुविचार )

पर्यटनका बहुआयामले समृद्ध मानिने जलजला क्षेत्रमा टुरिज्म सर्किटको विकास गर्न सकिने पर्यटन सम्बद्ध बताँउछन्, पर्या पर्यटन, युद्ध पर्यटन र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मानिने जलजला क्षेत्रमा सर्किटको विकास गर्न सके देशकै अब्बल गन्तव्य बनाउन सकिने उनीहरुको मत छ, विद्यमान रोल्पाका सात गाविसको संगम मानिने जलजलाको आसपासको क्षेत्रलाई समेटर टुरिज्म सर्किट बनाउन सकिने उनीहरुको धारणा छ । पर्यटनमैत्री पूर्वाधार र दीगो प्रवद्र्धनको योजना बन्न सके जलजलालाई नयाँ गन्तव्यको रुपमा विश्व बजारसम्म पुराउन सकिने प्रवल संभावना छ ।

11863298_977231642316549_9097866517762986921_nमनोरम प्राकृतिक छटाले सिंगारिएको जलजला प्रकृतिमा रमाउनेहरुका लागि उचित गन्तव्य हो, गृष्मकालीन बुकीफूल, बसन्तकालीन गुराँस र शितकालनी हिउँको घुम्तोभित्र प्राकृतिक सुन्दरताको बासना छर्ने जलजला बहुरंगमा सजिएर अप्सरा जस्तै लठ्ठिने गर्दछ । ऋतुअनुसार आफ्नो पहिरन फेर्ने जलजला निकै मनमोहक र सुन्दर छ , इन्द्रेणी जस्तै रंगिन देखिने जलजलाले ऋतु अनुसार आफ्नै सौन्दर्यताको वैभवता प्रदर्शन गर्दछ, प्रकृतिका अनुपम सुन्दरतामा सजिएर पाहुनाको प्रतिक्षा गरिरहेको जलजला अप्सरा जस्तै बनेर ठाँटिएने गर्दछ, विहानीको सूर्योदय र सूर्यास्तको दृष्यले सुन्दरताको वैभवता छटाछुल्ल हुने गर्दछ,, पाहुनालाई सुन्दरताको प्यास लगाउने जलजलाको सौन्दर्य महिमा कहिल्यै पुरा नहुने प्रकृतिप्रेमीहरु बताँउछन् ।

11870757_977231948983185_4351601558621425902_nपर्या गन्तव्यले उत्कृष्ट मानिने जलजलाबाट दीगो लाभ लिन टुरिज्म सर्किटको योजना लागु गरि पर्यटकलाई भ्रमण गराउने कार्यक्रम अबिलम्ब बन्नु आवस्यक छ । जलजलाको आधार क्षेत्रमा होमस्टेहरुको संचालन गरिनुपर्छ , जैविक विविधताले समृद्ध जलजलाको पाटन क्षेत्रले प्राकृतिक आनन्द दिने गर्दछ , जहाँ पर्यटकलाई हप्तौ घुमाउन सकिन्छ जसबाट स्थानीयले लाभ लिन सक्नेछन् । तसर्थ दीगो विकासको संभावना बोकेको जलजलाको बहुउपयोगी संभावनालाई व्यवहारमा लागु गर्न अब ढीला गर्न हुदैन ।

जैविक विविधताको संकेन्द्र जलजलामा डाँफे, मुनाल,कालिज, तित्रा लगायतका सयौ प्रजातिका चराचुरुङगी र वन्यजन्तुहरुमा कस्तुरी,थार घोरल हिमचितुवा भालु दुर्लभ रेडपाण्डासमेत पाइन्छ, गतवर्ष जलजला क्षेत्रमा दुर्लभ रेडपाण्डा भेटिएको थियो ।मुख्य गरि बुकी, गुराँश र तीन महिना जम्ने हिँउले जलजलाको अथाह सौन्दर्यता र वैभवतालाई झल्काउने गर्दछ, दलदलबाट जलजला बनेको यस स्थानमा पानीको श्रोत छ,जलजला(धरमपानी)को चुचुरोमा बुकी फूलहरुसंग घण्टौ लुकामारी खेल्न सकिन्छ भने पहाडको बेसीतिर पशुपक्षी वन पैदावर जडिबुटीको खानी नै छ,यहाँ आउने पर्यटकले जलजलाको सौन्दर्यतामा रमाउदै राप्तीका अधिकाँश भूभाग र भारतका केही शहरहरु समेत अवलोकन गर्न सक्तछन्, उत्तर फर्किए धवलागिरी माछापुच्छे र सिस्ने पुथा लगायतका हिमश्रृंखलाको ताँतीको सौन्दर्यताको प्यास मेटाउन सकिन्छ ।

11911214_919824624732220_1435530166_nसमुद्री सतहबाट ३ हजार ६ सय उन्चालिस मीटर अग्लो जलजला(धरमपानी) प्राकृतिकरुपले मात्र यति वैभव छैन राजनीतिक आन्दोलनको परिघटनाले पनि उत्तिकै सर्वाधिक चर्चामा छ । माओवादी विद्रोहसंग साइनो जोडिएको जलजला क्रान्तिको उदघोषको किल्ला थियो एक दशक अघि, तर यतिबेला अग्रगामी शान्तिको सन्देश प्रवाह गरिरहेको छ आफ्नो अभूतपूर्व सौन्दर्यता छर्दै । बहुरुपी जलजला अजंग सुन्दर उच्च पहाड हो । हजारौ रोपनीमा फैलिएको जलजला पहाड अनि त्यस्को आसपासमा फैलिएको विशाल घना जंगलमा विभिन्न किसिमका मूल्यवान जडिबुटीहरु पाइन्छन्, पाँचऔले, पदमचाल, सतुवा, सुगन्धवाल, तीते र दुर्लभ लोठ सल्ला यहाँका बहुमूल्य श्रोत हुन्, थबाङ, उवा, कुरेली, धबाङ, जेलबाङ, मिरुल र ह्रवामा गाविस जलजलाका आधार क्षेत्र हुन्, यीनैलाई समेटेर टुरिज्म सर्किट बनाउन सके प्याकेजमा पर्यटक घुमाउन सकिन्छ ।

जलजला पुग्न यतिबेला ४ वटा प्रवेश रुट तय बनाउन सकिन्छ ,् सुलिचौरहुदै शान्तिगाँउ जेलबाङबाट करिब ५ घण्टाको पैदल यात्रा पुरा गरे जलजला पुग्न सकिन्छ । सुलिचौरदेखि जेलबाङसम्म २६ किलोमिटर कच्ची सडक संचालनमा छ । एक रात जेलबाङ बसाइपछि बिहानै पैदल लागे करिब ५ घण्टामा जलजलाको मजाले अवलोकन गर्न सकिन्छ । जेलबाङ मगर संस्कृतिले समृद्ध भएकोले रातभर प्रस्तावित होमस्टेमा सांस्कृतिक नाँचगान मगर जीवन शैलीको अध्ययन अवलोकन गरी बिहानीको हिडाईमा पुग्न सकिन्छ । सांस्कृतिक र युद्ध पर्यटनको गन्तव्य शान्तिगाँउको बसाईपछि उकालो लागे जलजला पुगिन्छ ।

11913396_919859048062111_510585547_nयतिमात्र होइन सुलिचौरबाट शेरमको फुलिबनसम्मका करिब २७ किलोमिटर सडक पारपछि उवा हुदै करिब ६ घण्टाको पैदल यात्रापछि थबाङ अनि थबाङबाट २ घण्टाको पैदल दुरीमा जलजला पुग्न सकिन्छ । रोल्पाको सदरमुकाम लिबाङदेखि जलजलाको दोश्रो रुट हो यहाँबाट करिब ७ घण्टाको पैदलदुरीमा जलजला पुग्न सकिन्छ । जलजलाको आधार शिबिर धबाङको ग्रामीण बस्ती अनि गोठ बस्ने ग्रामीण कृषी संस्कार र प्रणालीको अध्ययन गर्न सकिन्छ । लिबाङदेखि जलजलासम्मको लागि पर्यटन मार्ग निर्माण गर्न सरकारले यस वर्ष जलजला पर्यटन मार्ग निर्माणका लागि प्रक्रृया अगाडि बढाएको छ । ३६ किलोमिटर दुरीको सडक पुरा भए लिबाङदेखि जलजला पुग्न सहज हुने मात्र होइन हिँउदमा हिँउ खेल्न, गृष्ममा बुकीफूलको अवलोकन र बसन्त ऋतुमा सयौ थरीका गुराँशको फूलसंग वहार गर्न सकिने छ । पर्यटन मार्ग निर्माण भए जलजलाको काखमा रहेको अनि सदरमुकामसंग जोडिएको बत्तिमुनिको अध्याँरो बनेको गाविस धबाङको उजागर हुनेछ ।

धबाङका मगर लगायतका अन्य विपन्न समुदायको कृषी उद्यम, पशुपालन जडिबुटी खेती लगायतमा व्यवसायीकरण गर्न सकिने प्रवल संभावना छ । यो रुटबाट पैदलमार्गको मुख्य आधार बजार लिबाङ मिनी सिटी हो, जहाँ अत्याधुनिक होटेल्स्को व्यवस्था गर्न सकिन्छ । सुलिचौरदेखि २९ किलोमिटर सडक दुरीमा सदरमुकाम लिबाङ पर्दछ । लिबाङ नगरपालिकाको ९ नम्बर वडा गुरुङगाँउमा होमस्टे संचालनमा भएकोले भ्रमणकर्ताले गुरुङ जीवनशैलीको स्वाद चाख्न सक्छन्,सदरमुकामदेखि करिब ४ किलोमिटरको सडक दुरी पुरा गरे रातभर गुरुङ संस्कृतिमा रमाउन पाइन्छ । घोराही देखि मिरुल(टुटु) सम्मको करिब एक सय किलोमिटर सडक दुरी पारपछि करिब ३ घण्टा पैदल दुरी पार गरे जलजला पुग्न सकिन्छ । शहिदगाँउको ग्रामीण बस्तीको जीवनशैलीको अध्ययन अनि प्राकृतिक सौन्दर्यताको अवलोकन गर्दै जलजला पुग्न सकिन्छ । यस रुटको ग्रामीण नगर घर्तीगाँउ हो । घर्तीगाँउमा सामान्य सुविधाका होटेल आवासको व्यवस्था छ । जलजलाको फेदीतिर पर्ने मिरुलको टुटु पनि सानो आवासको सुविधा भएको स्थान हो । यहाँ सामान्य खानपिन र बसोबासको व्यवस्था हुने गर्दछ ।

11919121_977291745643872_1922587570790055561_nपर्या, युद्ध पर्यटन र सांस्कृतिक पर्यटनको केन्दको रुपमा रहेको जलजलाका आसपासमा रहेका ग्रामीण बस्ती मगर बाहुल क्षेत्र हुन्। आदिवासी मगरहरुको सांस्कृतिक जीवन, कृषी प्रणाली र जीवन पद्धतीको अध्ययन अवलोकन गर्न सकिन्छ। जेलबाङ (शान्तिगाँउ), मिरुले (शहिद गाँउ) अनि थबाङ जस्ता ऐतिहासिक गाँउको सिरानमा पर्ने जलजला आफैमा पर्यटकीय उर्वर हो । अथाह उच्च पहाडी घना जंगल र त्यहाँ पाइने जैविक विविधताले जलजलाको चुुचुरो घेरिएको छ । सयौ प्रजातिका चरा, वन्यजन्तु वनस्पति इत्यादीले वैभव छ। युद्ध पर्यटनको हिसाबले जलजला केन्द्र नै हो । युद्धकालमा माओवादी निर्माण गरेका थुप्रै सम्पदाहरु जलजलामा छन् शहिद स्तम्भ अझै जस्ताको तस्तै छ । प्राकृतिक राजनैतिक सांस्कृतिक हिसाबले जलजला रोल्पाको पर्यटन विकासको पहिलो आधार हो । रोल्पा भ्रमण गर्नेले जलजला भ्रमण नगरे त्यो भ्रमण पूर्ण हुदैन ।तसर्थ जलजला रोल्पाको मात्र होइन राप्तीकै पर्यटन विकासको गतिलो केन्द्र विन्दु हो तसर्थ जलजलालाई केन्द्र मानेर समग्र रोल्पाको पर्यटनको दीगो योजना बनाउन जिम्मेवारहरुले ढीला गर्न हुदैन ।

पर्यटनका तीन आयामयले वैभव बनेको जलजलाको विकास गर्न राज्य तहबाट खासै पहल भने हन सकेको छैन । यद्यपी आर्थिक वर्ष २०६६/६७ मा जलजला पर्यटन विकास भन्ने शिर्षकमा खर्च गरिएपनि वृहत जलजला पर्यटन विकासको अवधारणा हुन नसक्ता परिणाम खासै आउन नसकेको हो । पछिल्लो चरणमा सरकारले आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रमा जलजलालाई संरक्षण गर्ने नीति सारिएपछि पर्यटन विकासमा सरकारी ध्यान तानिन थालेको बुझिन्छ । जलजलालाई संरक्षित क्षेत्रको रुपमा विकास गरि बहुउदेश्यीय उपयोगी नीति आवस्यक भएको नीति सम्वद्धहरुको धारणा छ ।

11944771_919859744728708_1025982955_nजलजलाको प्रवद्र्धन गर्न पहिलो पटक विसं २०६५ जेष्ठमा जलजला पर्यटन महोत्सवको आयोजना गरिएको थियो, करिब दश वर्षपछि सरकारी ध्यान जलजलातिर तानिएको मान्न सकिन्छ ।यद्यपी जलजलाको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय तहमा विसं २०५४ सालमा सात गाविसको सहभागितामा जलजला बहुसंरक्षण समितिको गठन गरिएको थियो े , तत्कालीन माओवादीका अगुवा चन्द्रबहादुर बुढामगरको संयोजनमा जलजला बहुसंरक्षण समिति गठन भएको हो, नेता बुढामगरको संयोजनमा बनेको समितिले जलजलामा चरिचरण, प्राकृतिक श्रोतको दोहन इत्यादीलाई रोकथाम गरेपछि प्राकृतिक प्रकोपमा न्यूनीकरण भएको थियो । सरकारी संरक्षण नीतिलाई कार्यान्वयन गर्न जलजला वृहत गुरुयोजना निर्माण गरि दीगो योजना बनाउन आवस्यक भएको विकास विज्ञहरुको सल्लाह छ ।

जलजला पुग्ने सबै रुटहरुको व्यवस्थित हुन सके हिउँदमा हिँउ खेल्न गृष्ममा बुकी फूलको अवलोकन गर्न र बसन्तमा गुराँशको फूलसंगै रमाउन आन्तरिक तथा बाह्रय पर्यटक पुराउन सकिन्छ । यसको लागि कम्तीमा पनि जिल्ला तहमा जिल्लाको पर्यटकीय रुट र प्याकेजको कार्यक्रम बन्नु पर्दछ । पर्यटन सूचनाकेन्द्रको बिस्तार अनि प्याकेजको कार्यक्रमहरुको निर्माण गरि रोल्पाको युद्ध पर्यटन पर्या पर्यटन र धार्मिक पर्यटनका लागि अतिथिलाई भ्रमण गराउन सकिन्छ । जलजलालाई केन्द्र(कोर) मानेर आसपासका पर्यटकीय गन्तव्यको उजागर गरि कनेक्टीभिटी हुन आवस्यक छ । यसबाट जलजलाको आधार क्षेत्र जेलबाङ थबाङ मिरुल, धबाङमा ग्रामीण पर्यटनको विकास गरि स्थानीयको जीवन सुधार गर्न सकिन्छ । होमस्टको संचालन गरि स्थानीय उत्पादनलाई बजारीकरण गर्न सकिन्छ, कृषि र वन सम्वद्ध उपजहरुलाई बजारीकरण गर्न सकिने प्रवल संभावना छन् तर ठोस नीति नहँुदा संभावनाहरु खेर गइरेहेका छन् । तसर्थ जलजला पर्यटन सर्किटको अवधाराणालाई लागु गर्न जिम्मेवारहरुले ठण्डा दिमागले सोच्ने कि ।