दाङ, २१ माघ । प्रेस चौतारी योगदान पुरस्कार–२०७३ बाट पत्रकार सविन प्रियासन पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी नेपाल दाङमा स्थापित प्रेस चौतारी योगदान पुरस्कार–२०७३ बाट प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं दाङका पूर्वअध्यक्ष तथा गणतन्त्र दैनिकका सम्पादक प्रियासन पुरस्कृत हुन लागेका हुन् ।
प्रेस चौतारी योगदान पुरस्कार छनौट समितिको आज घोराहीमा बसेको बैठकले प्रियासनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा बसेको बैठकले २ कार्यकाल चौतारी दाङको अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष पदमा रहेर चौतारीको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रियासनलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रेस चौतारी नेपाल दाङका अध्यक्ष टीका बस्नेतले जानकारी दिए ।
बैठकले भोलि माघ २२ गते प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा पुरस्कार बितरण गर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । प्रेस चौतारी नेपाल दाङमा स्थापित उक्त पुरस्कारको राशी १० हजार रहेको चौतारीले जनाएको छ ।
