काठमाडौं, १९ माघ । व्यवस्थापिका संसदमा आज बुधबार स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुँदैछ । राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले हिजो विधेयक टुंग्याएपछि बुधबार संसदमा पेश गर्न लागिएको हो । उपसमितिमा टुंगो लागेको विधेकयलाई अनुमोदन गर्न समितिको बैठक बस्दै छ ।
विधेयकमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिनु दुई महिला पहिले नै अर्को चुनाव गर्नुपर्ने प्रस्ताव गरिएको छ । संविधानले पदावधी सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था भएपनि दलहरु पदावधी सकिनुभन्दा दुई महिना पहिले नै चुनाव गर्ने प्रावधानमा सहमत भएका हुन् ।
विधेयकले गाउँपालिका, नगरपालिका वा जिल्लासभामा प्रमुख र उपप्रमुखको उम्मेद्वारमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने प्रस्ताव गरेको छ । संसदले यसअघि चुनावका लागि चाहिने अरु तीनवटा महत्वपूर्ण विधेयक पारित गरिसकेको छ ।
