प्रशन्न पोखरेल
कास्की, १९ माघ । मोवाइलको रिचार्ज कार्ड किन्न घरबाट निस्केकी छोरी दुई महिनासम्म पनि घर नफर्केपछि परिवारमा तनाव भएको छ। मंसीर ९ गते गोरखाको घ्याल्चोक गाबिस ५, ज्यामिरेघाटस्थित घरबाट रिचार्ज कार्ड किन्न स्थानीय बजार गएकी २५ वर्षीय अञ्जु तिमल्सेना घर नफर्किएपछि परिवारका सदस्य तथा आफन्तजन पीडामा छन्।
काठमाण्डौंको जनमैत्री क्याम्पसमा बीबीएस तेस्रो बर्ष पढ्दै आएकी तिमल्सेना गत मंसीर ६ गते घ्याल्चोकस्थित घर आएकी थिइन्। घर आएको तीन दिनदेखि उनी सम्पर्कबिहीन रहेको बताइएको छ। उनका बाबु रामहरि तिमल्सेनाले भने, ‘मंसीर ९ गते बिहान साँढे ९ बजेतिर रिचार्ज कार्ड किन्न घर नजिकैको पसल गएकी छोरी आजसम्म फर्किनन्। फर्कने आशमा बाटो हेरेर बसिरहेका छौँ।’
घ्याल्चोकवारिको पृथ्वीराजर्मास्थित बजारमा कार्ड किन्न गएकी उनी त्यसपछि सम्पर्कबिहीन रहेको तिमल्सेनाले बताए। चप्पल र मोवाइल घर नजिकै फेला परेको भएपनि छोरीको अवस्थाबारे अहिलेसम्म केही खबर नआएको भन्दै तिमल्सेनाले छोरीको खोजी गर्न प्रहरीकहाँ निवेदन दिएको बताए।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले परिवारको तर्फबाट अञ्जुको खोजीमा सहयोग गरिदिन निवेदन आएको बताए। उनले भने, ‘अञ्जुको खोजीका लागि आवश्यक अनुसन्धान भइरहेको छ।’ अञ्जुको परिवारका सदस्यलाई भिन्नभिन्न नम्बरबाट भिन्नभिन्न ब्यक्तिले मोवाइलमा फोन गरेकाले घटना झन् रहस्यमय बन्दै गएको हो।
