पर्सा, १८ माघ । पर्साको सोनवर्षा गाविसमा जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको ज्यान गएको छ । सोनवर्षा–९ मा पर्ने चरभयौ रेन्ज पोस्ट नजिकै सोमबार राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको ज्यान गएको हो ।

downloadश्रीपञ्चमीका अवसरमा सोनवर्षा गाविसस्थित दूधेश्वर महादेवको मन्दिरमा जल चढाउन गएका क्रममा कवरीहरुको समूहमाथि हात्तीले आक्रमण गर्दा अन्य कवरी भाग्न सफल भए पनि यादव भाग्न नसकेपछि हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको पर्साका प्रहरी उपरीक्षक, गोविन्दकुमार साहले जानकारी दिनुभयो ।

कवरी समूहमाथि हात्तीले आक्रमण गरेको सूचना पाएपछि तत्कालै घटनास्थलमा पुगेको प्रहरी चौकी रङ्गपुर, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र पर्सा वन्यजन्तु आरक्षको संयुक्त टोलीले अन्य कवरीलाई हात्तीको आक्रमणबाट जोगाई सुरक्षित स्थानतर्फ लगेको थियो ।
शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

आहारका खोजीमा वनबाट बाहिरिने हात्तीको झुन्डले पर्साको वन नजिकै रहेका मानवबस्ती तथा गाउँमा आक्रमण गर्दा बर्सेनि दशभन्दा बढीले ज्यान गुमाउनुपरेको छ ।

वन क्षेत्र फँडानी गरी बसेको मानवबस्तीमा जङ्गली हात्तीको आक्रमण बढ्दै गए पनि उत्पन्न समस्या समाधान गर्न सरकारले खासै चासो नदेखाएको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । रासस