काठमाडौं, १८ माघ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोजेको बताएका छन् । माओवादी केन्द्रसम्वद्ध योङ्ग कम्युनिष्ट लीग, नेपाल (वाइसिएल) को एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशमा दक्षिणपन्थी हावा चल्न थालेको बताएका हुन् ।

20170131_131608-848x478एकता भेलामा प्रचण्डले भने, ‘युवाहरुको नेतृत्व र सहभागितामा देशमा निकै ठूलो युद्ध चल्यो । जनयुद्धले देशमा गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता, समावेशी शासन प्रणाली, सामाजिक न्यायजस्ता ठूला राजनीतिक मुद्दाहरु जन्मायो । आज फेरी जनयुद्धले जन्माएका मुद्दाहरु उल्टाउन प्रतिगामी सोंच र मनोविज्ञान भएका शक्तिहरु लागिपरेका छन् । हामी हिमाड, पहाड र तराईबीच भावनात्मक एकता पैदा गरेर राष्ट्रिय एकता हासिल गर्ने प्रयासमा छौं । तर, एकथरी शक्तिहरु राष्ट्रवादको नाममा दक्षिणपन्थी हावा चलाउन खोज्दैछन् । अन्धराष्ट्रवादको वकालत गरेर, सामन्ती तत्वसँग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने, संघीयता लागु हुनै नदिने, धर्मनिरपेक्षता खारेज गराउने प्रपञ्चमा छन् । तर, जनताको जागरणसामू त्यो किमार्थ सम्भव छैन ।’

‘वास्तविक राष्ट्रवाद त्यो हो, जसले हिमाल, पहाड र तराईलाई जोड्छ । वास्तविक राष्ट्रवाद त्यो हो, जसले सबै जाति, भाषा, संस्कृति, सभ्यता र समुदायको सम्मान र समानताको वकालत गर्दछ । एउटा भाषा वा समुदायको प्रतिनिधित्व गर्ने, हिमाल र पहाडलाई भड्काएर एक–अर्काका विरुद्ध उभ्याउने सोंच राष्ट्रवादी सोंच हुन सक्दैन । माओवादी नक्कली राष्ट्रवादको पक्षमा होइन, जनताको आत्मिक एकतासहितको राष्ट्रिय एकताको पक्षमा छ’, प्रचण्डले भने ।

जनयुद्धद्वारा स्थापित राजनीतिक अधिकार जोगाउन युवाहरुले नयाँ संकल्प गर्नुपर्ने उनले बताए । प्रचण्डले भने, ‘हामीले नयाँ संकल्प गर्नुछ, जनयुद्धले स्थापित गरेका मुद्दाको रक्षा गर्नुछ, बिभाजित माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गर्नुछ, शक्तिशाली बनाउनुछ । त्यसका लागि तपाई युवाहरुले नयाँ संकल्प गर्नुहोस्, फेरि एकपटक व्यक्तिगत स्वार्थ र सङ्किर्णताका घेरा तोड्नुस् र मानव जातिको हितका लागि आफूलाई उभ्याउनुस् ।’