काठमाडौँ, १३  माघ । काठमाडौँ उपत्यकामा रहेका नगरपालिकाका कार्यकारी प्रमुखले आज उपत्यकाको फोहार व्यवस्थापन गरिँदै आइएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटको स्थलगत अवलोकन गरेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडाँै उपत्यकाको फोहार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै केही दिनअघि २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई तत्काल ल्याडफिल साइटको स्थलगत अवलोकन गरेर फोहोर व्यवस्थापनमा गम्भीर हुन निर्देशन दिनुभएको थियो । आफ्नो नगर क्षेत्रभित्रबाट निस्केका फोहोर आफैँले व्यवस्थापन गर्न ठोस योजना बनाउन पनि उहाँले आग्रह गर्नुभएको थियो ।

16344321_1279378428809887_1600220306_nल्याण्डफिल साइटको अवलोकन गर्न काठमाडौँ र भक्तपुरका स्थानीय विकास अधिकारी, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, उत्पकाका केही नगरपालिकाका प्रमुख तथा फोहोरमैला व्यवस्थान प्रविधिक सहयोग केन्द्रका प्रमुखलगायत सिसडोल पुगेका थिए ।

उपत्यकाको फोहोरलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न आजैदेखि स्रोतबाट नै कुहिने र नकुहिने गरी छुट्टयाई सोही अनुरुप व्यवस्थापन गरिनुपर्ने अनुगमन टोलीले ठहर गरेको कामपाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताउनुभयो ।

16344223_1279378105476586_411422093_nहाल काठमाडौँ उपत्यकाका २२ वटा नगरपालिकाबाट प्रतिदिन करिब एक हजार टन फोहोर उत्सर्जन हुने गरेको छ । त्यसको करिब ७० देखि ७२ प्रतिशत फोहोर जापानी सहयोग नियोग (जाइका)ले २०६२ सालमा सिसडोलमा निर्माण गरिदिएको ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने गरिएको छ । अहिले दैनिक करिब ७०० टन फोहोर सिसडोलमा व्यवस्थापन गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रले जनाएको छ ।

यसैबीच, टोलीले दुई वर्षदेखि निर्माण सुरु गरिएको बन्चरेडाँडा ल्यान्डफिल साइटको पनि अवलोकन गरेको छ । बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गर्न आवश्यक एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । नयाँ बन्ने ल्यान्डफिल साइटमा करिब २० वर्षसम्म फोहार व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ । करिब रु दुई अर्ब ४५ करोडको लागतमा ल्यान्डफिल साइट निर्माण भइरहेको हो ।

फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने बैकल्पिक मार्गका रुपमा सडक विभागबाट करिब छ किलोमिटर छोटो सडक निर्माण भइरहेको छ भने फोहार बिसर्जन गर्ने स्थलसम्म पुग्ने कोल्पुखोलामाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न हुने केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताउनुभयो । त्यस्तै कोल्पुखोला डाइभर्सनको काम पनि सम्पन्न भइसकेको छ ।