काठमाडौँ, १२ माघ । चौमासिक तलब बुझिरहेका देशभरका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षकलाई मासिकरुपमै तलब दिन शिक्षा मन्त्रालयले समबन्धित निकायलाई निर्देशन दिएको छ ।
चौमासिकरुपमा तलब दिँदा शिक्षण सिकाइमा गम्भीर असर परेको ठहर गर्दै शिक्षा मन्त्रालयले मासिकरुपमा तलब भुक्तानी गर्न शिक्षा विभागलाई लिखित निर्देशन दिएको हो ।
शिक्षा मन्त्रालयले चौमासिकरुपमा तलब दिने प्रणालीले शिक्षकहरुको मनोविज्ञानमा पनि असर परेकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ ।
शिक्षा नियमावलीको व्यवस्था अनुसार मासिक रुपमा तलब भत्ता नदिइएको गुनासो शिक्षक र शिक्षकसँग सम्बन्धित संगठन र नेपाल शिक्षक महासंघले गुनासो गरिरहेका बेला शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
‘नेपाल सरकार सचिवस्तरबाट २०७३ माघ ३ गते यसबारेमा निर्णय भएको हुँदा सो अनुसार गर्नेरगराउने व्यवस्थाको लागिग अनुरोध’, शिक्षा मन्त्रालयले विभागलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।
शिक्षा नियमावली २०५९ को नियम १०१ ९१० मा शिक्षकले हरेक महिना तलब र भत्ता पाउने प्रावधान छ । तर, शिक्षा नियमावाली विपरित जिल्ला शिक्षा कार्यालयहरुले शिक्षकलाई चौमासिकरुपमा तलब दिँदै आएका छन् । शिक्षा कार्यालयले चौमासिकरुपमा निकासा गरेपछि विद्यालयहरुले पनि त्यही अनुसार हालसम्म तलब भुक्तानी गर्दै आएका थिए ।
शिक्षा मन्त्रालयको आर्थिक प्रशासन शाखाका उपसचिव मुकुन्दकेशरी पोखरेलका अनुसार निजामती कर्मचारीलाई जस्तै शिक्षकलाई पनि महिना मरेपछि तलब दिने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन विभागलाई निर्देशन दिइएको छ ।
अर्थ मन्त्रालयले शिक्षकको तलबी प्रतिवेदन शिक्षासँग हरेक वर्ष लिने गरेको छ । शिक्षा विभागले शिक्षक तलबी जिल्ला शिक्षा कार्यायलबाट लिने गरेको छ । विभागले जिल्लाबाट आएको प्रतिवेदनलाई अर्थमा वर्षमा एक पटक एकमुष्ट बुझाउँदै आएको छ ।
विभागले यसअघि सरकारी तथा सामुदायिक विद्यालयका सबै शिक्षकको तलब एकैपटक निकासा हुने भएकाले मासिक तलब खुवाउन नसक्ने जिकिर गर्दै आएको छ । तर मन्त्रालयले निर्देशन दिएपछि विभागले अब भने मासिकरुपमै तलब खुवाउनुपर्ने बाध्यात्मक अवस्था आएको छ ।
मन्त्रालयको निर्देशनपछि शिक्षकलाई मासिक तलब भुक्तानी दिलाउन शिक्षा विभागले कार्यदल गठनको तयारी गरेको छ ।
मन्त्रालयको निर्देशनपछि विभागले जिल्ला शिक्षा अधिकारीसमेत सम्मिलित कार्यदल विभागका कर्मचारीको नेतृत्वमा बनाइएको छ । त्यो कार्यदलले दिएको प्रतिवेदनका आधारमा विभागले यसबारेमा निर्णय लिने भएको छ ।
विभागका महानिर्देशक बाबुराम पौडेलले मासिकरुपमा तलब बुझ्न नपाउँदा शिक्षकहरु दैनिक व्यवहार तथा खर्च गर्ने कुरामा समस्या पर्दै आएको गुनासो आफूहरुकहाँ यसअघि पनि आइरहेको बताएका छन् ।
पौडेलले विभाग पनि शिक्षकहरुलाई मासिकरुपमै तलब खुवाउने पक्षमा भए पनि यसबारेमा कार्यदलले प्रतिबेदन दिएपछि निर्णयमा पुग्ने बताए । सरकारबाट तलब बुझ्ने शिक्षकहरुको संख्या १ लाख ५२ हजार ६ सय ९ रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।