हेटौंडा, १२ माघ । भूकम्पपछि बन्द रहेको मकवानपुरको पर्यटकीयस्थल दामनको आकर्षण एभरेष्ट भ्यू टावर पुनः सञ्चालनमा आएको छ । टावर सञ्चालनपछि दामनमा पर्यटकसमेत बढेका छन् ।

indभ्यू टावरबाट उच्च हिमशृङखलाको अवलोकन गर्न वार्षिक २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक दामन आउँछन् । दैनिक रूपमा नेपाली पर्यटक वृद्धि भएको भ्यू टावरका सञ्चालक लबशेर बिष्टले बताए ।

उत्तरी मकवानपुरको सुन्दर तथा हरिया वनजङ्गल र विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायत १३ हिमशृङ्खलाको अवलोकन गर्न विदेशी पर्यटकसहित काठमाडौं, बुटवल, पोखरा, हेटौंडा, वीरगञ्जलगायत शहरबाट पर्यटक भ्यू टावरमा आउने गर्छन् । २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको एभरेष्ट भ्यू टावर करीब डेढ वर्षपछि सञ्चालनमा आएको हो ।

क्षतिग्रस्त भ्यू टावरको मर्मत गरेर सञ्चालनमा ल्याएको सञ्चालक विष्टले बताए । टावरको टिकट घर, टावरका कोठा, पोल चर्किएको थियो । जिविसले प्राविधिकसहितको टोली खटाएर पुनर्निर्माणको अनुगमन गरेको थियो ।

मर्मतमा ठूलो रकम लाग्ने भन्दै सञ्चालक बिष्टले जिविसमा पत्राचार गरेका थिए । पर्यटन तथा संस्कृति मन्त्रालयको स्वामित्वमा रहेको भ्यू टावर ८ वर्षअघि मात्र जिल्ला विकास समिति मकवानपुरको स्वामित्वमा आएको थियो ।

जिल्ला विकास समितिले भ्यू टावर सञ्चालनमा खुला बोलपत्र आह्वान गरेर निजीक्षेत्रलाई जिम्मा दिएको थियो । २५ लाख रुपैयाँ खर्च गरेर मर्मत सम्भार गरेपछि सञ्चालनमा ल्याएको बिष्टले जानकारी दिए ।