बाँके, ११ माघ । झापामा काउछो दलेर एभरेष्ट बैंकबाट एक लाख रुपैयाँ लुटिएको केही दिन नवित्दै नेपालगन्जमा एक व्यक्तिका साथबाट साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ ।

Untitled-1 copyधम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको तीन लाख ६५ हजार भएको झोला सोमबार लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउछो दलेर पैसासहितको झोला लुटेका हुन् ।

मोटरसाइकल चलाउने बेला एक्कासी घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताए ।

वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको दुई लाख ६५ हजार र आफूसंँग झोलामा भएको एक लाख लुटिएको जिकिर गरे । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।