काठमाडौं, १० माघ । सरकारले अल्लो प्रशोधनका लागि विभिन्न २२ जिल्लामा अल्लो प्रशोधन केन्द्र खोल्ने भएको छ । मुलुकमा औद्योगिकीकरण र उद्यमशीलता विकासको अभियानमा जुटेको उद्योग मन्त्रालयले रोजगारी सृजना र गलैंचा उद्योगका लागि आवश्यक कच्चा पदार्थसमेत उपलब्ध हुनेगरी अल्लो प्रशोधन केन्द्र स्थापना गर्ने भएको हो ।

alloमेशिन राख्न आवश्यक बजेट तर्जुमा भइसकेको मन्त्री जोशीले जानकारी दिए । ‘त्यसका लागि आवश्यक बजेटका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ,’ उनले भने, ‘तत्काल मेशिन खरीदका लागि टेण्डर प्रक्रिया अगाडि बढिसकेको छ ।’ आगामी चैतसम्ममा मेशिन जडान गरिसक्ने लक्ष्यका साथ आवश्यक काम अगाडि बढेको बताइएको छ ।

ती मेशिन नेपाली युवा इञ्जिनीयरले नेपालमै तयार पारेका हुन् । शुरूमा २० लाख रुपैयाँ लागत अनुमान गरिएको मेशिनका लागि ९ लाख रुपैयाँमै उपलब्ध हुने भएको छ ।

शुरूमा धेरै मात्रामा अल्लो उत्पादन हुने जिल्लामा एकरएकओटा प्रशोधन मेशिन राखिने छ । ती जिल्लामा अल्लो उद्यमीहरूको समूह गठन गरिने र सोही समूहलाई निश्चित हब तोकेर मेशिन सञ्चालन गर्न दिने मन्त्रालयको तयारी छ ।

मेशिन किन्न सरकारले सहयोग गरे पनि त्यसको मर्मत तथा सम्भारका लागि भने समुदायले छुट्टै कोष बनाउनुपर्ने छ । सन् २०१० मा सरकारले गरेको अध्ययनमा मुलुकका विभिन्न ५८ ओटा जिल्लामा अल्लो उत्पादन हुने गरेको छ । त्यसक्रममा सबैभन्दा बढी मध्यपश्चिमका जिल्लामा उत्पादन हुने गरेको पाइएको छ ।