तुलसीपुर १० पुस । नेपाली काँग्रेसका केन्द्र्रिय सदस्य मिलेन्द्र रिजालले स्थानीय निकायको निर्वाचनका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ५ले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलालाई आइतवार सम्वोधन गर्दै पुर्व सूचना तथा सञ्चार मन्त्री रिजालले काँग्रेसको पक्षमा बहुमत आउने गरि निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन ।
उनले भनेका थिए ‘ दाङका पाँचै सिट काँग्रेसले जितेको छ र अबको निर्वाचनमा पनि बहुमत काँग्रेसकै पक्षमा आउनेगरि निर्वाचनको तयारीमा लाग्नुहोस ।’ सविंधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य रहेकोले सरकार स्थानीय निकायको निर्वाचनको मिति तोक्ने तयारीमा रहेको नेता रिजालको भनाई थियो ।
पार्टी भित्रको आन्तरिक कलह गौन विषय भएपनि त्यो अन्तका लागि सवै कार्यकर्ताहरुले आ–आफनो जिम्मेवारी कुशल रुपमा वहन गर्नु आवश्यक रहेको उनको तर्क थियो । लोकतान्त्रिक पार्टी भित्र निर्वाचनको समयमा गुट उपगुट हुनुलाई अन्यथा मान्न नहुने बताएका उनले तर संधैभरी पार्टीमा गुट उपगुट कायम राख्नु गलत भएको उनको तर्क थियो ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले काँग्रेसलाई बलियो बनाउने आधार भनेकै तल्लो तहका कार्यकर्ता हुने भएकोले पार्टीको निष्ठामा अडिक रहेर नेतृत्वलाई खबरदारी गर्न आग्रह गरेका थिए ।
पार्टीहितका लागि कार्यकर्ताहरुले जनहितकारी कार्य गर्नुपर्ने भन्दै समाजको विकास र परिवर्तनमा काँग्रेस कार्यकर्ताहरुले जिम्मेवारी वहन गर्नुपर्ने र समाजका उच्छृखंलताको अन्तका लागि पनि निडर भएर अगाडि बढ्न उनले कार्यकर्ताहरुलाई निर्दैशन दिएका थिए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ५का कार्यवाहक सभापति घनश्याम ढकालको सभापतित्वमा भएको कार्यक्रममा सांसदहरु वुद्धिराम भण्डारी, राजुखनाल ,नेपाली काँगे्रस दाङका पुर्वसभापतिहरु घनश्याम रेग्मी,यमप्रशाद पाण्डे गेहेन्द्र गिरी, नेता केशव आचार्य,तेजवहादुर वस्नेत,कुलवहादुर जिसी,नेपाल तरुण दल दाङका अध्यक्ष टिकाराम घर्ती, नेपाल महिला संघकी क्षेत्रीय सभापति तारा वली ,नेपाल किसान संघ दाङका अध्यक्ष गोवद्र्धन आचार्य,नेपाल तरुण दलका क्षेत्रीय सभापति ललित पाण्डे ,नेविसंघका क्षेत्रीय सभापति नविन योगी लगाएतले कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
क्षेत्रीय कोषाध्यक्ष भद्रवहादुर खड्काको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव चुडामणि ढकालले गरेकाथिए ।
