तुलसीपुर ९ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा फिडरलाईन जडान हुने भएको छ । नेपाल विधुत प्राधिकरणले शुक्रवार तुलसीपुर खानेपानीलाई फिडरलाईन जडान गर्न अनुमति प्रदान गरेको तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीले जाानकारी दिएका हुन ।
तुलसीपुर खानेपानीले फिडरलाईन जडानका लागि लामो समयदेखि प्रयास गर्दै आएको थियो । घोराही खानेपानीले आजभन्दा दुईवर्ष अगाडि फिडरलाईन जडान गरिसकेको छ । उसले उपक्षेत्रीय अस्पतालवाट उक्त लाईन जडान गरेको छ । दुईवर्ष पहिले देखि नै तुलसीपुर खानेपानीले पनि फिडरलाईन जडानको लागि पहल गर्दै आएको थियो । तर राप्ती अञ्चल अस्पताल तुलसीपुर सञ्चालक समितिले त्यसमा अवरोध सृजना गरेको थियो ।
अस्पतालका तत्कालिन अध्यक्ष रुद्रमणि शर्माले तुलसीपुर खानेपानीलाई फिडरलाईन दिन नमान्दा तत्कालिन समयमा फिडरलाईन जडान गर्न समस्या भएको तुलसीपुर खानेपानीका अध्यक्ष वलीको आरोप छ ।
अध्यक्ष वलीले भने ‘ जेहोस,लामो संघर्ष र अनेक विरोधका बाबजुत बल्ल खानेपानीले फिडरलाईन पाएको हो,हामी निकै खुसी छौं।’ नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङले शुक्रवार तुलसीपुर खानेपानीलाई फिडरलाईन दिने स्वीकृती प्रदान गरेको अध्यक्ष वलीले बताए ।
अबको एक हप्ता भित्रै खानेपानी फिडरलाईन जडान गर्न कसरतमा रहने अध्यक्ष वलीले जानकारी दिए । फिडरलाईन जोड्नका लागि तुलसीपुर खानेपानीसंग पहिले नै आवश्यक ट्रान्सफर्मर प्राप्तछ । तर विद्युत पोल र तार खरिद गर्नका लागि करिव डेढ लाखदेखि दुई लाखसम्म बजेटको आवश्यकता पर्ने अध्यक्ष वलीले जानकारी दिए ।
फिडरलाईन जोडेपछि हुने फाईदा
खानेपानीमा फिडर लाईन जडान गरेपछि २४सै घन्टा विद्युत आपुर्ति उपलब्ध हुनेछ । त्यसो भएमा झन्डै ६ हजारको हाराहारीमा धारा वितरण गरेको खानेपानीलाई पानीका ट्याङ्की भर्न सजिलो हुनेछ । अध्यक्ष वलीका अनुसार बत्ती नभएको समयमा जेनेटर चलाउनुपर्नै बाध्यता त्यसपछि टर्नेछ ।
जसवाट झन्डै १२ लाखदेखि १५ लाखसम्म आर्थिक व्ययभार कम हुनेछ । अध्यक्ष वलीले थपे ‘नाकावन्दीको समयमा र दैनिक १२ घन्टासम्म लोडसेडिङ हुँदा पानीको सहज आपुर्तीगर्न निकै समस्या भएको थियो , अब त्यो समस्या समाप्त हुनेछ ।’
